जालझेल र षडयन्त्र नगरी २ जेठमा फर्किने सहमति अक्षरस: पालना गरौं : अष्टलक्ष्मी शाक्य

बिहीबार, भदौ ३१, २०७८

काठमाडौं । एमालेकी उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले २ जेठ ०७५ मा फर्किने सहमति अक्षरस: पालना हुनुपर्ने बताएकी छन् । बिहीबार प्रज्ञा प्रतिष्ठानमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शाक्यले एमाले सुदृढ बनाउन १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन अक्षरस: पालना हुनुपर्ने बताएकी हुन् । जालझेल र षडयन्त्र नगरी २ जेठ अक्षरस: पालना गर्नुपर्ने शाक्यको भनाइ छ । 'जो जुन पदमा थियो त्यहीँ फर्काउ । हामी अलग भएर के फाइदा भयो ? अन्तरपार्टी निर्देशन अक्षरस: पालना गर्नुपर्छ । हिजोका कुरा बिर्सिएर सुदृढ एमाले बनाउन छाति फराकिलो बनाउनुपर्छ । सम्पूर्ण कमिटी त्यही ढंगले पुनर्गठित हुँदै अघि बढ्नुपर्छ,' उनले भनिन् । शाक्यले आजको आवश्यकता सुदृढ एमाले भएको बताउँदै भनिन्, 'कम्युनिस्टको हृदय विशाल हुन्छ । देशको रक्षा गर्छ । प्रतिक्रियावादीहरु कागजका बाघ हुन्,' उनले भनिनन् ।  शाक्यले नेकपा फुटिसकेपछि पुरानै पार्टीमा फर्किँदा एमाले हुन नसकेको अनुभव सुनाइन् । 'माओवादी आफ्नो हिसाबले अघि बढ्यो । हामी एमाले हुन सकेनौं । म नै रातभरl कतिपय बेला सुत्न सकिनँ । किन कम्युनिस्ट आन्दोलन एकजुट भएन, मिल्न सकेन भनेर मनभरि खेल्यो,' उनले भनिन्, ' तर १ जेठ २०७८ मा आएर खुसी भए । किनभने १० बुँदे सहमति भयो । आफ्नै घरभित्र बस्न पायौं भनेर खुसी भयौं । आफ्ना सबै पीडा भुलेर । समर्पण र त्याग थियो । फेरि एमाले हुँदा खुसी भयौं । आज हामी एमालेमा छौं ।' शाक्यले अब एमाले कहिल्यै नटुक्रिने र नफुट्ने गरी सुदृढ बनाउन सबै कुरा छोड्नुपर्ने तथा त्याग र समर्पण गर्नुपर्नेमा जोड दिइन् ।

प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  १४:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार