सोसल मिडिया
Contact Us
युनिकोड
जकार्ता । इन्डोनेशियाका अधिकारीहरूले शनिबार जकार्ताबाट उडेको केही छिनमै समुद्रमा हराएको यात्रुवाहक विमानको दुर्घटनाग्रस्त भएको ठानिएको क्षेत्र पत्ता लागेको बताएका छन् । श्रीविजया एयरजेटको उक्त बोइङ ७३७ विमानमा चालकदलका सदस्यसहित कुल ६२ जना सवार थिए । उक्त विमान देशको पश्चिम कालिमान्तान प्रान्तस्थित पोन्टिआनक जानका लागि उडेको चार मिनेटमै रेडारको सम्पर्कबाट बेपत्ता भएको थियो । विमान खोज्नका लागि जलसेनाका पौडीबाजसहित १० वटाभन्दा बढी पानीजहाज परिचालन भएका छन् । विमानको भग्नावशेष ठानिएका सामग्रीहरूको अनुसन्धानकर्ताहरूले विश्लेषण गरिरहेका छन् । शनिवार राति खोजी र उद्धारका प्रयासलाई रोकिएको भए पनि आइतबार बिहानैबाट निरन्तरता दिइएको छ ।
विमानलाई के भएको थियो ? श्रीविजया एअरको उक्त विमान जकार्ता विमानस्थलबाट शनिवार दिउँसो स्थानीय समयानुसार १४ः३६ बजे उडेको थियो । यातायात मन्त्रालयका अनुसार त्यसको चार मिनेटपछि १४ः४० मा अन्तिम सम्पर्क भएको थियो । जकार्ताबाट पश्चिमी बोर्नियो टापुस्थित पोन्टिआनक पुग्न सामान्यतया विमानमा ९० मिनेट लाग्छ । राष्ट्रिय खोजी तथा उद्धार निकाय एअर मार्शल बागुस पुरुहितोका प्रमुखका अनुसार विमानले कुनै आपत् परेको संकेत पठाएको थिएन ।उडानहरूको विवरण राख्ने वेबसाइटका अनुसार एक मिनेटभन्दा कम समयमा उक्त विमान आकाशबाट ३,००० मिटरभन्दा तल ओर्लिएको थियो । प्रत्यक्षदर्शीहरूले उनीहरूले कम्तीमा एउटा विस्फोटन सुनेको र देखेको बताएका छन् । सोलिहिन नाम गरेका माझीले आफूले दुर्घटना देखेको र आफ्नो जहाजका कप्तानले समुद्रबाट जमिनमा फर्किने निर्णय गरेको बताएका छन् । ‘विमान समुद्रमा चट्याङ परे जसरी खस्यो र पानीमा विस्फोट भयो’, उनले भने, ‘त्यो घटना हामी नजिकै भएको थियो ।’ विमान हराएको क्षेत्रनजिकै टापुमा बस्ने केही स्थानीय बासिन्दाले आफूहरूले केही सामग्री फेला पारेको र त्यो विमानको भएको ठानेको बताएका छन् । विमानमा को थिए ? विमानमा सात बालबालिका र तीन शिशुसहित ५० जना यात्रु र चालक दलका १२ सदस्य रहेको ठानिएको छ । विमानको क्षमता भने १३० यात्रुको थियो । अधिकारीहरूका अनुसार विमानमा सवार सबै इन्डोनेशियाली नागरिक नै थिए । जकार्तास्थित अन्तर्राष्ट्रिय विमानस्थल र पोन्टिआनकस्थित विमानस्थलमा उनीहरूका आफन्तहरू व्यग्र भएर कुरिरहेका छन् । ‘विमानमा मेरो परिवारका चार सदस्य छन् (मेरी श्रीमती र तीन सन्तान’, यमन जाईले रुँदै संवाददातालाई भने । ‘मेरी श्रीमतीले बच्चाको फोटो पठाएकी थिइन्... मेरो मुटु कसरी छियाछिया नहोस् ?’
विमानबारे हामीलाई के थाहा छ ? विवरणअनुसार उक्त बोइङ ७३७–५०० विमान २६ वर्ष अघि बनेको हो । श्रीविजया एअरका प्रमुख कार्यकारी जेफरसन इर्विन जाउवेनाले संवाददाताहरूलाई विमान राम्रो अवस्थामा रहेको बताएका छन् । ठूलो वर्षाका कारण विमान उड्न ३० मिनेट ढिलो भएको उनले बताए । सन् २००३ मा स्थापना भएको श्रीविजया एअर इन्डोनेशियाले दक्षिणपूर्व एशियाका गन्तव्यहरूमा उडान गर्छ । उडेको केही छिनमै उक्त विमानन रेडारको स्क्रीनबाट हराएको थियो । राजधानी जकार्ताबाट २० किलोमिटर उत्तरमा विमान हराएको थियो । त्यही ठाउँनजिकै सन् २०१८ को अक्टोबरमा पनि विमान दुर्घटनामा परेको थियो । उडेको १२ मिनेटमा इन्डोनेशियाली लायन एअर समुद्रमा डुब्दा जम्मा १८९ जनाको ज्यान गएको थियो ।–बीबीसी