सोसल मिडिया
Contact Us
युनिकोड
संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानलाई दिने भनी प्रतिबद्धता व्यक्त गरेको मानवीय सहायतास्वरुपको रकम छिटो उपलब्ध गराउन विदेशी समुदायलाई आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घको पहलमा हालै भएको एक सम्मेलनका क्रममा विश्वका कतिपय देशले अफगानिस्तानलाई मानवीय सहायतास्वरुप भन्दै रकम उपलब्ध गराउने बताएका थिए । ती देशले कम्तीमा पनि एक अर्ब दुई करोड अमेरिकी डलर सहयोग स्वरुप उपलब्ध गराउने ती देशले जनाएका थिए । त्यस क्रममा उनीहरुले तत्कालका लागि यति रकम दिने बताएका थिए । संयुक्त राष्ट्रसङ्घले भने अफगानिस्तानको अवस्था निकै नाजुक बन्दै गएको भन्दै प्रतिबद्धता व्यक्त गरिएको सो रकम तत्कालै उपलब्ध गराउन भनेको छ । संयुक्त राष्ट्रसङ्घका तर्फबाट महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफन डुजारिकले सो रकम उपलब्ध गराउन भनेका हुन् । यसअघि अफगानिस्तानमा ठूलो मानवीय सङ्कट आउन लागेको संयुक्त राष्ट्रसङ्घले जनाएको थियो । संयुक्त राष्ट्रसङ्घले यसका लागि विश्व समूदाय गम्भीर हुनुपर्ने बताएको थियो । अफगानिस्तानको आर्थिक अवस्था ध्वस्त भएको र ठूलो मानवीय सङ्कट आउन लागेको भन्दै त्यहाँ आवश्यक सहयोग उपलब्ध गराउन भनिएको छ । हालै जेनेभामा भएको एक सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा विश्वको ध्यानाकर्षण गराएको बताइएको थियो । सोमवार जेनेभामा आयोजित एउटा सम्मेलनमा अन्तरराष्ट्रिय दातासँग संयुक्त राष्ट्रसङ्घका महासचिव गुटर्रेसले सहयोगको आह्वान गरेका हुन् । उनले अहिले नै अफगानिस्तानमा खाना र महिला तथा बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्न लागेको भन्दै सो रकमको आवश्यकता परेको बताएको छ । गत महिना सशस्त्र विद्रोहमार्फत् अफगानिस्तानको सत्ता तालिबानीले हातमा लिएका थिए । त्यसयता वैदेशिक सहायता पनि ठप्प भएको छ । अफगानिस्तानका नागरिकलाई तत्कालै खाना, औषधि, स्वास्थ्य सेवा तथा पछिल्लो समयमा सुरक्षित पिउने पानीको पनि समस्या रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । महासचिव गुटर्रेसले सो सम्मेलनमा करिब ६० करोड अमेरिकी डलरको तत्कालै आवश्यकता रहेको बताए । उनले यो सहयोग तत्कालै उपलब्ध भएमा अफगानिस्तानका दशौँ लाख मानिसलाई राहत पुग्ने पनि बताएका थिए । उज्बेकिस्तानबाट झण्डै ५०० अफगान नागरिक विस्थापित
उज्बेकिस्तानबाट करिब ५०० अफगान नागरिक विस्थापित भएका संयुक्त राज्य अमेरिकाले मङ्गलबार जनाएको छ । विस्थापित ती अफगान नागरिकमा सेना र सर्वसाधारण रहेका थिए । उज्बेकिस्तानले अब आफ्नो क्षेत्रमा अफगान शरणार्थी नभएको दाबी गरेको छ । गत अगस्ट १५ मा तालिबानले अफगानिस्तानको राजधानी काबुल कब्जा गरेपछि छिमेकी राष्ट्र उज्बेकिस्तान र ताजिकिस्तानमा अराजकताको अवस्था आएको थियो । तालिबानले कब्जा गर्नु अगाडिका सरकारका समर्थक सैनिक पनि अफगानिस्तानबाट भागेर छिमेकी राष्ट्र पुगेका थिए । उज्बेकिस्तानले शरणार्थीको सङ्ख्या र स्थितिबारे टिप्पणी गर्न रोकेको थियो । तर अमेरिकी दूतावासका प्रवक्ताले मङ्गलबार एएफपीलाई उज्बेकिस्तानको दक्षिणी टेर्मेज विमानस्थलबाट उज्बेकिस्तान सरकारको सहयोगमा ४९४ अफगान सैनिक र सर्वसाधारण विस्थापित भएका जानकारी दिए । शरणार्थीको अन्तिम गन्तव्यबारे कुनै टिप्पणी नगरी प्रवक्ताले एएफपीलाई टेलिफोनमार्फत दिएको जानकारीअनुसार सेप्टेम्बर १२ र १३ मा उद्धार गरिएको हो ।– सिन्ह्वा