जग्गा अभावले स्तरोन्नति रोकियो

आइतबार, भदौ २७, २०७८

 


दमौली । तनहुँका सदरमुकाममा रहेको जिल्ला अस्पताल जग्गा अभावका कारण स्तरोन्नति हुनसकेको छैन । पन्ध्र शय्या क्षमताको अस्पताललाई ५० शय्यामा विस्तार गर्न जग्गा नै प्रमुख कारक रहँदै आएको छ । अस्पताल व्यवस्थापन समितिले आसपास रहेका जग्गा अस्पताललाई हस्तान्तरण गर्न पटक–पटक प्रदेश सरकारसँग आग्रह गरे पनि प्राप्त भएको छैन । अस्पतालसँगै जोडिएका कृषि ज्ञान केन्द्र र भेटेरेनरी अस्पताल पशु सेवा विज्ञ केन्द्रको जग्गा अस्पताललाई प्रदान गर्न जनप्रतिनिधि एवं सरोकारवालाले यस अगाडि कयौँपटक प्रदेश सरकारसँग अनुरोध गरेका थिए । जग्गाकै कारण अस्पतालको स्तरोन्नति रोकिएपछि व्यास नगरपालिकाले ज्ञान केन्द्रको जग्गा र भवन दमौली अस्पताललाई उपलब्ध गराउन गण्डकी प्रदेश सरकारसँग आग्रह गरेको छ । कार्यपालिकाको बैठकबाटै उक्त निर्णय गराएर सरकारलाई आग्रह गरिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । “दमौली अस्पताल व्यवस्थापनका लागि सिमाना जोडिएको केन्द्रको जग्गा र भवन अस्पताललाई उपलब्ध गराएर कृषि ज्ञान केन्द्रलाई अन्यत्र व्यवस्थापन गर्न अनुरोध गरेका छौँ”, उनले भने, “दमौली अस्पताल र कृषि ज्ञान केन्द्र प्रदेश मातहतको कार्यालय भएकाले सरकारले चाहे यो सम्भव छ ।” यसअघि अस्पतालले कृषि ज्ञान केन्द्रको स्वामित्वको जग्गामध्येबाट पाँच रोपनी र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्वामित्वको मध्येबाट आठ रोपनी जग्गा अस्पताललाई उपलब्ध गराउन माग गरेको अस्पतालका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए । पटक–पटक अस्पतालको स्तरोन्नतिका लागि पहल थालिदा पनि कुनै परिणाम प्राप्त नभएको उनको भनाइ छ । अस्पतालको स्तरोन्नतिका लागि आवश्यक जग्गा प्राप्तिमा पटक–पटक छलफल चलाएर फाइल बोकी सम्बन्धित निकायमा धाउँदा पनि सफल नभएको उनले बताए । “विभिन्न ठाउँका विभिन्न कित्ताका सार्वजनिक र विभिन्न सरकारी कार्यालयको अनुत्पादक जग्गा पहिचानसहित सम्बन्धित निकायमा लगियो तर परिणाम अहिलेसम्म प्राप्त भएको छैन”, उनँले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  १३:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार