लाइसेन्सका लागि अनलाइन फाराम भर्न समस्या

शनिबार, पुस २५, २०७७

काठमाडौं । यातायात व्यवस्था कार्यालयमा नयाँ चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइन फाराममा समस्या आउँदा सेवाग्राही हैरान भएका छन् । विभागले यातायात कार्यालयअनुसार निश्चित संख्यामा मात्रै सेवाग्राहीले भर्न पाउने व्यवस्था गर्दा समस्या आइरहेको छ । सर्भरमा पनि समस्या आइरहेको विभागले जनाएको छ । तोकिएको संख्या सकिएपछि सर्भरले काम नगर्ने र सेवाग्राहीले दुःख पाइरहेको गुनासो आएको विभागका निर्देशक रामचन्द्र पौडेलले बताए । अहिले सर्भर स्तरोन्नति गर्ने गरी छलफल भइरहेको छ । संख्या तोकिदिँदा सेवाग्राही फारम नै भर्न नपाएकाले त्यो हटाउने तयारी कार्यालयको छ ।एकै पटक धेरै सेवाग्राहीले फारम भर्दा सर्भरमा समस्या आउँदा विभागको सेवा दुई दिनका लागि अवरुद्ध भएको थियो । बिहीबारबाट सुचारु गरिए पनि अहिले पनि सेवाग्राहीले सहज रूपमा फाराम भर्न नपाएको गुनासो छ । आफूले पटक पटक प्रयास गर्दा पनि फाराम भर्न नसकेपछि धेरै सेवाग्राहीले विभाग र कार्यालयहरूमा गुनासो गरिरहेका छन् । कोभिड–१९ सङ्क्रमणको जोखिमलाई ध्यान दिएर विभागले कार्यालय वा विभागमा नगरेर अनलाइन भर्ने व्यवस्था गरेको हो । चन्द्रागिरि नगरपालिका वडा १२  बलम्बूस्थित गुर्जुधारामा रहेको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरका सञ्चालक माधव अधिकारीले चालक अनुमतिपत्रका लागि अनलाइन फाराम भर्न सहज नभएका कारण सेवाग्राही समस्यामा परेका बताए । नेपालको सबैभन्दा ठूलो र सुबिधा सम्पन्न सो एकेडेमी ३२ रोपनी जग्गामा फैलिएको छ ।  एकेडेमीमा सबै प्रकारका यातायातका साधनका लाइसेन्सका लागि प्रयोगात्मक परीक्षाका लागि पूर्वाधार तथा प्रशिक्षणका लागि सुबिधा छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड –१९ का लागि निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्र्दै एकेडेमीमा प्रयोगात्मक परीक्षा शुरु भएको एकेडेमीका अध्यक्ष राजेश घिमिरेले जानकारी दिए । प्रयोगात्मक परीक्षार्थीका लागि सामाजीक दूरी, ज्वरो मापन, स्यानिटाइजर तथा मास्क अनिवार्य गरिएको छ ।
 

प्रकाशित मिति: शनिबार, पुस २५, २०७७  ०५:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार