फौजको मनोबल गिराउने गतिविधि किमार्थ क्षम्य हुँदैन : प्रधानसेनापति शर्मा

शनिबार, भदौ २६, २०७८

काठमाडौँ । नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरण अनिश्चित, अस्थिर र जटिल रहेको वर्तमान परिस्थितिमा हाम्रा सामु थप चुनौती देखापरेको बताएका छन् । 
प्रधानसेनापतिको जिम्मेवारी सम्हालेपछि पहिलो पटक आज सकल दर्जालाई सम्बोधन गर्दै उनले जटिल परिस्थितिमा संवैधानिक दायित्व सम्पादन गर्दै राष्ट्रहित र स्वार्थको संरक्षण एवं प्रवद्र्धन गर्नका लागि सदैव तयार रहनु सेनाको पहिलो कर्तव्य भएको स्पष्ट गरेका छन् । 
प्रधानसेनापति शर्माले भने, “राष्ट्रियहितलाई दृष्टिगत गरी सरकारद्वारा राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीति जारी भइसकेको छ । सोही अनुरुपका राष्ट्रिय सैनिक रणनीतिको निर्माण र वैधता प्राप्त गर्दै सैनिक मूल ग्रन्थ पुनरावलोकन गरिने छ ।’’
नीति÷रणनीति र मूलग्रन्थलाई आधार मानेर रणनीति, अप्रेशनल र टयाक्टिकल तहबीच सामान्यतया कायम हुने गरी तीन जोड एक कार्यान्वयन गरिदै लैजाने दृढता व्यक्त गर्दै उनले भने, “सेना लामो कालखण्डदेखि नै प्रणाली र पद्धतिमा आधारित सङ्गठन थियो, आज पनि छ, भोली पनि रहनेछ ।” सङ्गठनलाई सुदृढ र सशक्त बनाउन सामूहिक भावनाअनुरुप काम गरिनेमा जोड दिँदै प्रधानसेनापति शर्माले यसै वर्षबाट सबै अङ्ग सहभागी हुने गरी युनिट तहसम्म सामूहिक तालिमलाई विशेष महत्व दिइने जानकारी दिए । 

द्रूतमार्ग निर्धारित समयमा पूरा गर्न विशेष पहल हुन्छ
उनले भने, “आगामी तीन वर्षभित्रमा सबै फर्मेसन र युनिटमा सबै तालिममा सहभागी हुने व्यवस्था मिलाइने छ । दू्रतमार्गलाई निर्धारित समयमा सम्पन्न गर्न विशेष पहल गरिने छ ।” उनले कल्याणकारी कोष सबै हिताधिकारीको साझा र महत्वपूर्ण सरोकारको विषय भएकाले स्वास्थ, शिक्षा, स्वरोजगारलाई विशेष महत्व, १० वर्षे सेवा गरेका वहालवालालाई  आवासका निम्ति रु २५ लाखसम्म सहुलीयत कर्जा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे । 
संस्थागत हितको अभिप्रायलाई दिइने विवेकपूर्ण जोखिम तथा अनुशासित पहललाई  हरहमेसा प्रोत्साहित गरिने उनले स्पष्ट पारे । प्रधानसेनापति शर्माले भने, “तर सैनिक अनुशासन, पदीय मर्यादा, आचरण विपरितका गतिविधि र सङ्गठनको तेजोबोध हुने गरी सीमित समूहको हितमा उपयोग गर्ने र फौजको मनोबल गिराउने जस्ता अवान्छित गतिविधि भने किमार्थ क्षम्य हुने छैन ।”

शान्ति सैनिकद्वारा कङ्गोमा बिमानस्थल पुग्ने पहँुच सडक निर्माण

कङ्गोमा तैनाथ नेपाली शान्ति सैनिकले बुनियाँ विमानस्थल पुग्ने पहुँच सडक पुनःनिर्माण गरी हस्तान्तरण गरेको छ । उक्त सडक त्यहाँ तैनाथ शान्ति सैनिक फोर्स कमाण्डर मार्कोस डेसा अफोन्सो दा कास्टाले उद्घाटनपछि हवाई उड्यन प्राधिकरणलाई हस्तान्तरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
उक्त पहुँच सडकको पुनःनिर्माणपछि बुनिया बिमानस्थलमा सवारी साधन आवत जावतमा छिटोछरितो भई आपतकालीन अवस्था र उद्धार सहज हुने बताइएको छ । विश्वका विभिन्न मुलुकमा शान्ति स्थापनाका लागि खटिएको नेपाली शान्ति सैनिकले आफ्नो कार्य क्षेत्रमा विभिन्न सामाजिक काम गरी स्थानीयको मन जित्दै आएको छ ।
 

प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८  ०९:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार