भारतमा बर्डफ्लु देखिएपछि उच्च सतर्कता

शुक्रबार, पुस २४, २०७७

चितवन । भारतमा बर्डफ्लु देखिएसँगै यहाँ उच्च सावधानी अपनाउन थालिएको छ । सरकार र निजी क्षेत्रबाट आ–आफ्नो ढङ्गले सावधानी अपनाउन थालेका छन् । सरकारले भारतमा बर्डफ्लु देखिएपछि पशु सेवा विभागअन्तर्गतका कार्यालय र क्वारेन्टिनलाई सक्रिय बनाएर पक्षीजन्य पदार्थ आयातमा रोक लगाएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा दयाराम चापागाईका अनुसार पक्षीजन्य पदार्थ आयातको सिफारिस दिइँदै आएकामा बन्द गरिएको हो ।  जिल्लामा प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको जिल्ला बर्डफ्लु प्राविधिक समिति हुने गर्दछ । चापागाईका अनुसार चितवनमा केही दिनअघि समितिको बैठक बसेको थियो । बैठकले व्यवसायीलाई उच्च सावधानी अपनाउन अनुरोध गरेको छ । वाग्मती प्रदेश सरकारको सहयोग र व्यवसायीको साझेदारीमा नारायणगढ–मुग्लिन सडकखण्डमा ढुवानी गर्ने साधन सरसफाइ र निसंक्रमण गरिँदै छ । 
भरतपुर महानगरपालिकासँग जग्गा माग गरी २५ लाख रुपैयाँ खर्च गरेर सवारी साधनको सरसफाइ र निसंक्रमण स्थल निर्माण गर्न लागिएको हो । काठमाडौँ, पोखरा, गोरखा, धादिङ, लमजुङलगायतका जिल्लामा यही बाटो हुँदै कुखुराजन्य पदार्थ जाने गर्दछ । फर्कदा सवारी साधनलाई निसंक्रमण गर्न लागिएको हो ।  देशकै सबैभन्दा बढी कुखुराजन्य वस्तु उत्पादन हुने चितवनका कृषकलाई जैविक सुरक्षा अपनाउन अनुरोध गरिएको छ । कुखुराको रोगको परीक्षण गर्ने केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला चितवनमा नै छ । प्रयोगशाला प्रमुख डा चेतनाथ खरेलका अनुसार यो प्रयोगशालाको कार्यक्षेत्र देशैभर हो । प्रयोगशालामा कोभिड–१९ परीक्षण गरिएकाले यहाँ सङ्कलन भएका नमूना त्रिपुरेश्वरको पक्षी रोग अन्वेषण प्रयोगशालामा पठाइँदै आएको छ । प्रयोगशालाले त्यही कृषकले ल्याउने नमूना र आफैँले देशैभरबाट संकलन गर्ने नमूना परीक्षण गर्ने गर्दछ । भारतमा बर्डफ्लु देखा परेसँगै नमूना संकलन बढाइएको छ । हाल यो प्रयोगशालामा ब्याक्टेरियोलोजी परीक्षण मात्र हुने गरेको छ । मोलीकुलर, एलाइजा, पिसिआर, हिस्टोप्याथोलोजीलगायतका महत्वपूर्ण परीक्षण रोकिएका छन् । त्यस्ता सरदर दैनिक एउटा नमूना काठमाडौँ पठाइँदै आएको छ ।  
कोभिड–१९ प्रयोगशाला अन्यत्र सारेर पक्षीजन्य परीक्षणलाई यही गर्नका लागि अनुरोध भइरहेको छ । गएको चैत महिनामा तीन महिनाका लागि त्यहाँ कोभिड–१९ प्रयोगशाला स्थापना गरिएको भए पनि हालसम्म स्थानान्तरण गर्न सकिएको छैन । 
नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले भारतबाट आउने कुखुराजन्य पदार्थ तत्काल रोक्नुपर्ने, सरकारी निकाय चनाखो हुनुपर्ने र कृषक एवं व्यवसायीले जैविक सुरक्षामा ध्यान दिन सकेमा रोग भित्रन नपाउने बताए । नेपालमा कुखुराजन्य पदार्थको मूल्य बढेकाले भारतबाट लुकीछिपी आउने क्रम बढ्दो रहेको उनको भनाइ छ ।  कुखुराजन्य पदार्थमा नेपाल आत्मनिर्भर रहेको छ । यस क्षेत्रमा एक खर्ब रुपैयाँ भन्दा बढीको लगानी भइसकेको व्यवसायीको भनाइ छ । जाडो मौसममा बर्डफ्लुको उच्च जोखिम हुने गर्दछ । 
 

प्रकाशित मिति: शुक्रबार, पुस २४, २०७७  २१:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार