काठमाडौं महानगरका विद्यालय माघ १ गतेबाट खुल्ने

शुक्रबार, पुस २४, २०७७
Global Ime Bank

काठमाडौं । काठमाडौं महानगरपालिकाले माघ १ गतेबाट विद्यालय खोल्ने तयारी गरेको छ । चालु शैक्षिक सत्र तीन महिनामात्र बाँकी रहेका बेला महानगरले स्वास्थ्य मापदण्ड लागू गरेर विद्यालय खोल्न लागेको हो । ‘महानगरले माघ १ गतेबाट विद्यालय खोल्ने तयारी गरेको छ,’ महानगरपालिकाका प्रवक्ता तथा वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले भने, ‘कोरोना भाइरसबाट बच्न जनस्वास्थ्यका सबैखाले मापदण्ड अपनाएर विद्यालय खोल्न दिइनेछ ।’
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनअनुसार महानगरका विद्यालयले गत असारबाट अनलाइन कक्षा चलाइरहेका छन् । अधिकांश विद्यालयले अनलाइन कक्षा चलाए पनि भौतिक कक्षाजस्तो प्रभावकारी हुन नसकेको शिक्षक तथा अभिभावकले बताउँदै आएका छन् । महानगरले मेट्रो एफएममार्फत रेडियो कक्षासमेत सञ्चालन गरिरहेको छ । काठमाडौं जिल्लामा १ हजार ४ सय १५ विद्यालय छन् । तिनमा १ हजार १ सय ४० निजी र २ सय ७५ सामुदायिक छन् । महानगरपालिकाभित्र ९३ सामुदायिक र ६ सय ४२ संस्थागत (निजी) विद्यालय छन् । 
 

प्रकाशित मिति: शुक्रबार, पुस २४, २०७७  ०४:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार