सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकालगायत देशका कुनै पनि स्थानमा घोषित वा अघोािषतरूपमा विद्युत्भार कटौती नभएको पुनः दोहो¥याएको छ । प्राधिकरणले प्राविधिक समस्याका कारण एकाध मिनेट वा केही घण्टा कहीँकतै बिजुली काटिएको भए पनि त्यसलाई लोडसेडिङको रूपमा नबुझ्न पुनः आग्रह गरेको हो । प्राधिकरणले विगतमा जस्तै उपभोक्ताबाट सक्रियरूपमा साथ र सहयोग प्राप्त गर्ने विश्वाससमेत व्यक्त गरेको छ । केही समयदेखि अघोषितरूपमा बिजुली काटिन थालेपछि प्राधिकरणले पटक–पटक उपभोक्तालाई सही र तथ्यपूर्ण जानकारी दिने प्रयाससमेत गरेको जनाएको छ । उपभोक्तालाई गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् उपलब्ध गराउन प्रसारण तथा वितरण लाइन र सबस्टेशन सुदृढीकरणका लागि चालिएका कदमबाट विद्युत् छिनछिनमा जाने (ट्रिपिङ)को समस्या घट्दै गएको समेत प्राधिकरणले दाबी गरेको छ । जाडोको समयमा बढी विद्युत् माग हुँदा त्यसबाट पर्ने प्रभावलाई कम गर्नसमेत वितरण प्रणालीमा सुधार तथा अन्य सबै प्रकारका उपायको अवलम्बन गरेको दाबी गर्दै प्राधिकरणले कुनै पनि स्थानमा समस्या देखिएको खण्डमा त्यसलाई निराकरणका लागि आम उपभोक्ताको सक्रिय साथ तथा सहयोगको अपेक्षा गरेको छ । प्राधिकरणको तथ्याङ्कअनुसार विद्युत्को माग सबैभन्दा बढी हुने काठमाडौँ उपत्यकामा यस वर्षको मङ्सिरमा ३४७ पल्ट ट्रिपिङ भएको जनाएको छ । काठमाडौँ उपत्यका र यस आसपासका जिल्लामा विद्युत् आपूर्ति गर्ने १४ वटा सबस्टेशनमा ट्रिपिङ हुँदा कूल २२ घण्टा विद्युत् अवरोध भएको जानकारीसमेत दिएको छ । गत वर्षको मङ्सिरमा ५७७ पटक ट्रिपिङ भई ६५ घण्टा विद्युत् आपूर्ति बन्द भएको प्राधिरकणको विवरणमा उल्लेख छ । प्रणालीमा मागअनुसार आपूर्तिका लागि पर्याप्त विद्युत् रहेकाले घोषित÷अघोषितरूपमा विद्युत् कटौती (लोडसेडिङ) नगरिएको प्राधिकरणका कायममुकायम (कामु) कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए । सडक तथा खानेपानी पाइप विस्तारका कारण भूमिगत केवलमा क्षति पुग्ने, केही स्थापनमा पोल तथा टान्सर्फमर सार्नुपर्र्नेलगायतका प्राविधिक कारणले त्यस आसपासका क्षेत्रमा केही समय विद्युत् कटौती भएको हुनसक्छ । अहिलेसम्मको तथ्याङ्क हेर्दा गत वर्षको पुसमा भन्दा यस वर्ष ट्रिपिङ कम भएको देखिन्छ, विगतमा चालिएका सुधारबाट यस वर्ष र यस वर्ष गरिएका कामबाट अर्को वर्ष नतिजा देखिन्छ । स्थानीयरूपमा माग धान्न नसक्ने अवस्थामा (ओभरलोड) रहेका ट्रान्सफर्मर फेर्ने, बिदाको दिन लाइन सुधार गर्ने र त्यसका लागि लाग्ने समय घटाउनेलगायतका काम गर्दै विद्युत् आपूर्तिमा सुधार गर्न अहोरात्र काम भइरहेको शाक्यले बताए । सडक विस्तार, खानेपानीको पाइप जडान, विद्युत्का पोल सार्न, ट्रान्सफर्मर बदल्न, वितरण प्रणालीेको मर्मतसम्भारलगायतका काम गर्न विद्युत् आपूर्ति बन्द गर्ने क्रम पनि घटेको छ । गत वर्षको मङ्सिरमा यी काम गर्न ४९१ पटक विद्युत आपूर्ति बन्द (सटडाउन) गरिएकामा यस वर्ष ३६२ पटक मात्रै गरिएको छ । विद्युत् आपूर्तिलाई विश्वसनीय र भरपर्दो बनाउन कन्डक्टर फेर्ने, ट्रिपिङको समस्या समाधान गर्न विद्युत्को मागलाई ध्यान दिएर फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाउने कामलाई उच्च प्राथमिकतामा राखी सोहीअनुसार काम भइरहेको छ । मर्मतसम्भारमा लाग्ने समयलाई घटाएर जतिसक्दो छिटो विद्युत् आपूर्ति नियमित गर्न प्राधिकरण क्रियाशील छ । उनले सामाजिक सञ्जाल तथा गलत मनसाय राखेर गरिने प्रचारको पछाडि नलाग्नसमेत उपभोक्तालाई आग्रह गर्नुभयो । प्राधिकरणले विगतदेखि नै उपभोक्ताको हितलाई केन्द्रमा राखेर काम गरेका कारण काम गर्दै जाँदा देखिने सानातिना समस्यालाई क्रमशः समाधान गर्दै जाने विश्वाससमेत व्यक्त गरे ।