समयमै मापदण्डअनुसार सडक निर्माण सक्न निर्देशन

मंगलबार, भदौ २२, २०७८

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी तेम्बाथान सडकखण्डको सोमबार स्थलगत निरीक्षणपछि राष्ट्रिय योजनाआयोगका सदस्य डा. रामकुमार फुयालले तोकिएको समयसिमाभित्रै मापदण्डअनुसार सडक निर्माण सम्पन्न गर्न सम्बन्धित् पक्षलाई निर्देशन दिएका छन् । अरनिको राजमार्ग अन्तर्गतको बलेफी बजारदेखि नौबिसे सडकखण्ड र जलबिरेदेखि कात्तिके सडकखण्डको जुगल गाउँपालिकाअन्तर्गतको ढाँडे हुँदै गणेश खोलासम्मको स्थलगत निरीक्षणमा निर्माण कार्य थुप्रै सुधारको आवश्यकता औंल्याइएको छ ।  जलबिरे कात्तिके सडकखण्डका लागि ठेक्का पाएको निर्माण पक्षलाई डिपिआर, ड्रोइङ र डिजाइनअनुसार निर्माण कार्य सम्पन्नगर्न निर्देशन दिइएको हो । ढाँडे–कात्तिके सडकखण्डको कुम्भेश्वर वारीपट्टिको खण्डदेखि गणेश खोलासम्मको भाग निकै जोखिपूर्ण देखिएकोले सो क्षेत्रमा बलियो निर्माणका लागि थप उपायहरू अवलम्बन गर्न निर्माण पक्ष र प्राविधिक सहयोग गर्न सरकारी प्राविधिकहरूलाई निर्देशन दिइएको छ । सो क्षेत्रमालगातार सडक भासिने, पहिरो खस्ने र लगाइएको तार जाली पल्टिने घटना दोहोरिएको बताउँदै माथिल्लो भागदेखि नै ठूलो क्षेत्र भासिएकोले बेलैमा सतर्क हुनसडक डिभिजन कार्यालयकी ईन्जिनियर मैना राइले आग्रह गरिन् । सभामुख अग्निप्रसाद सापकोटासँगको समन्वयमा सडक निर्माणको स्थलगत निरीक्षणमा आएको जानकारी गराउँदै सदस्य फुयालले तोकिएको मापदण्ड र समय ख्याल गरेर निर्माणमा लाग्नुपर्नेमा जोड दिएका छन् । तोकिएको मापदण्ड पूरा गरेको नपाइए संलग्न सबै पक्ष कारबाहीको भागिदार हुनेतर्फसमेत सचेत गराइएको छ । भूकम्पले थिलथिलो बनाएको सिन्धुपाल्चोकका पहाडहरूमा यो वर्ष पनि ठूला साना गरी सयौं पहिरोबाढीका कारण थुपै भित्रि सडकहरु अवरुद्ध भएका छन् । निर्माण पक्षको लापरबाही र सरकारी संयन्त्रको फितलो अनुगमनका कारण सर्वसाधारणले भने वर्षेनी सास्ती भोग्नु परेको छ । न्युज कारखाना

प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  १३:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार