सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । मनसुनी वायुको प्रभावका कारण देशभर अधिकांश स्थानमा वर्षा भएको छ । मंगलबारसाँझसम्म पानी पर्ने छ । पश्चिम बङगालको खाडीमा अवस्थित न्यूनचापीय मनसुनको साथै स्थानीय वायुको प्रभावले मनसुन सक्रिय भई देशको अधिकांश स्थानमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए । ‘उक्त प्रणालीको प्रभाव मंगलबार बेलुकासम्म कायम रहने र बुधबारदेखि मौसममा सुधार हुनेछ’, उनले भने, ‘स्थानीय वायुको प्रभावले राति र बिहानपख बढी वर्षा हुने गरेको छ ।’ हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा प्रदेश १, वाग्मती र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएरातिको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन् । काठमाडौँ उपत्यकामा १२१ दशमलव ५ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।
उपत्यकाका विभिन्न स्थानमा डुबान गएरातिको अविरल वर्षाले काठमाडौँ उपत्यकामा ३८५ घर डुबानमा परेका छन् भने २४७ जनाको उद्धार गरिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले काठमाडौँको काँडाघारी, परोपकार, बल्खु, सुन्दरीघाट, भक्तपुरको मनोहरा, बोडेफाँट, सुकुम्बासी बस्ती तथा ललितपुरको सानेपा, कालोपुललगायतको क्षेत्र डुबानमा परेको जानकारी दिए । काठमाडौँबाट २३२ र ललितपुरबाट १५ मजदुरको उद्धार गरिएको उनले बताए । विशेष गरी नदीको वरपरका क्षेत्र डुबानबाट प्रभावित भएको जनाइएको छ । अहिलेसम्म डुबानबाट मानवीय क्षति नभएको प्रहरीको भनाइ छ ।
गोकर्णेश्वर उत्तरवाहिनी क्षेत्र डुबान अविरल वर्षाले वाग्मतीको किनारमा रहेको गोकर्णेश्वर महादेव मन्दिर र उत्तरगया क्षेत्र डुबानमा परेको छ । मन्दिरमुनिको चौर डुबानमा परेपछि दिवङगत पितृका नाममा भाद्रकृष्ण औँसीमा श्राद्ध गर्न आउने भक्तजन प्रभावित भएको गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले दिए । गोकर्णेश्वर महादेव मन्दिरबाट उत्तरवाहिनीसम्म अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले निर्माण गरेको सिँढी भरिएर बाहिर पानी आउँदा यो क्षेत्र डुबानमा परेको हो । पानीसँगै आएको बाढीले यो क्षेत्रको सडक पनि बिगारेको छ । जोरपाटी सुन्दरीजल सडक विस्तारका क्रममा ठाउँ ठाउँमा अलपत्र रहेको भाग बाढीले प्रभावित भएको छ । अधिकांश भित्री सडक जलमग्न भएको छ । गोकर्णेमुनिको वाग्मती किनार क्षेत्रसमेत ठाउँ ठाउँमा डुबानमा परेको छ । यसैगरी रुद्रमतीमा आएको बाढीले रातोपुल मैतीदेवी क्षेत्रका केही घरसमेत डुबानमा परेका छन् । आइतबार रातिदेखि सोमबार बिहानसम्मको वर्षाले उपत्यकाका धेरै स्थान प्रभावित भएको छ ।