‘निन्द्रा खुल्छ ,छोरा देख्दिनँ...’

आइतबार, भदौ २०, २०७८

कञ्चनपुर । बेलौरी नगरपालिका–५ मैनाहाका ६६ वर्षीया सीता चौधरीलाई छोरा फर्केर आउने आशा अझै छ । सशस्त्र द्वन्द्वका क्रममा उहाँका १४ वर्षीय छोरा घरबाटै बेपत्ता भएका थिए। चाडपर्व आउने बेला छोरा आउने आशमा उनको बाटो कुरेर बस्छन् । “सपनामा समेत छोरालाई झलझल्ती घर आँगनमै बसेको काम गरेको देख्छु”, उनले भने, “एक्कासी निन्द्रा खुल्छ । छोरालाई देख्दिन, यसपछि आँखाबाट आँसु झर्न थाल्छ ।” निर्दोष छोरालाई घरबाटै बलजफ्ती लगेर बेपत्ता बनाएको उनले बताए । “छोरा जिउँदो छ भने कहाँ छ देखाउनुप¥यो, मारेका हुन् भने लाश दिनुप¥यो”, उनले गहभरि आँसु पार्दै भने, “बेपत्ता बनाउनेलाई कानुनी कारबाही हुनुप¥यो । हामीलाई न्याय चाहिएको छ । उनीजस्तै बेलौरी नगरपालिका–५ का जङ्गबहादुर चौधरीलाई द्वन्द्वका क्रममा घरबाटै बेपत्ता पारिएपछि उनकी श्रीमतीलाई साँझ बिहानको खाना जुटाउनै लागि अरुकहाँ मजदुरीमा जानुपर्ने बाध्यता छ । घरका कमाउने श्रीमान्लाई बेपत्ता बनाइएपछि दुई छोराछोरीको पढाइलेखाइ र साँझ बिहानको खाना खर्च जुटाउनका लागि कृषि र निर्माणसम्बन्धी काममा मजदुरीमा जानुपर्ने बाध्यता भएको कमली चौधरीले बर्ताए । “द्वन्द्वका क्रममा बेपत्ता भएका परिवारलाई स्थानीय तहले केही सघाउ पु¥याउँलान् भन्ने आशा थियो”, उनले भने, “हालसम्म बेपत्ता परिवारलाई सहयोग गर्नु त परको कुरा, भेटनका लागिसमेत कोही पुगेका छैनन् ।” उमेरले ७० वर्ष पुगेका बेपत्ता परिवारका कालुराम थारूले बेपत्ताको अवस्थाबारे पत्तो लगाई न्याय दिनेबारेमा सरकार मौन बसेको आरोप लगाए ।

प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  १५:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार