एनआरएनए अधिवेशन:उम्मेदवारी घोषणा सुरु 

आइतबार, भदौ २०, २०७८

 

बर्लिन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अधिवेशन नजिकिएसँगै धमाधम उम्मेदवारी घोषणा भइरहेका छन् । नयाँ कार्यसमिति चयनका लागि जर्मनीका प्रतिनिधिलाई चासोका साथ हेरिने गरिन्छ । वर्तमान अध्यक्ष कुमार पन्त र पूर्वअध्यक्ष जीवा लामिछाने पनि यही देशबाट प्रतिनिधित्व गर्छन् । यसैगरी रामप्रताप थापा, उषा शर्मा, दिल गुरुङलगायत एनआरएनए अभियानकर्मी रहेका जर्मनीबाट यसपटक अन्तर्राष्ट्रिय समन्वय परिषद् तहमा नेतृत्व लिएर अघि बढ्ने उम्मेदवारबारे चर्चा सुरु हुन लागेको छ । यहाँ एक हजार ५९५ सदस्य छन् । आइसिसीमा जान पाउनेमा निर्वाचनमार्फत शङ्कर डाँगी विजयी भइसकेका छन् । अक्टोबर तेस्रो साता सुरु हुने अधिवेशनका लागि युरोप क्षेत्रीय संयोजक र उपसंयोजकका उम्मेदवारका रूपमा जर्मनीबाट क्रमशः पूर्वआइसिसी सदस्य सन्तोष भट्टराई र जर्मनीका पूर्वअध्यक्ष डा नवराज रोस्याराले उम्मेदवारी दिने घोषणा गरिएको छ । यसपटक पहिलेको जस्तो परिस्थिति पनि नभएको र आफ्नो उम्मेदवारी समयको माग बनेकाले युरोप क्षेत्रको नेतृत्व लिने अठोटमा पुगेको उनीहरूको भनाइ छ । यसैगरी बद्री केसी, कुल आचार्य र रविना थापाबीच अध्यक्ष पदमा प्रतिस्पर्धा हुन लागेको बताइएको छ । उपसंयोजक पदका उम्मेदवार डा रोस्यारा पनि अन्तिम अवस्थासम्म आउँदा केवल तीन जनाको मात्र उम्मेदवारी पर्नसक्ने भएकाले सर्वसम्मतरूपमा विजयी हुने दाबी गर्छन् ।


 

प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  १५:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार