सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । बिहीबार राति आएको पहिरोले पर्वत दुर्लुङ भोगेनीका एकै परिवारका ५ जनाको मृत्यु भएको छ । शुक्रबार एकाबिहानै खसेको पहिरोमा माधव शर्माले परिवारका ५ सदस्य गुमाएका छन् । पहिरोमा परी शर्माका आमा ७५ वर्षीया आमा कौशिला पौडेल, श्रीमती ३५ वर्षीया भगवती पौडेल, छोरीहरु १६ वर्षीया विमला पौडेल, ११ वर्षीया विनिता पौडेल र ९ वर्षीय छोरा विनोद पौडेलले ज्यान गुमाए । बर्सेनि पहिरोले दुर्लुङको डाँडो छियाछिया पारेजस्तै दुर्लुङबासीको मन छियाछिया भएको छ । पोहोर पहिरो खसेपछि गृह मन्त्रालयले स्थलगत अध्ययन गरेको थियो जसले दुर्लुङका ४५ घर ठूलो पानी परे उच्च जोखिममा रहेको देखाएको थियो । यद्यपि प्राविधिक हिसाबले कुनै पनि रुपमा जोखिममा पर्ने जस्तो ‘नदेखिने’ देखाएको थियो । ‘गाउँ माथि पनि घना वन छ । भिरालो जमिन भएर जोखिम मानिनेभन्दा पनि कम देखिन्छ’ प्रतिवेदनमा भनिएको छ, ‘खोला, खोल्सी, कुलो केही पनि छैन ।’
२ दिनमा १८ जनाले ज्यान गुमाए पछिल्लो २ दिनमा मात्रै गण्डकीमा बाढीपहिरोमा परी १८ जनाले ज्यान गुमाएका छन् तीमध्ये ११ जना पर्वतका छन् । प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार पर्वतमा एकै परिवारका ५ जनासहित ११ जनाले ज्यान गुमाएका हुन् । कुश्मा ११ सिल्मीमा गएको पहिरोले २ जनाको ज्यान लियो । मृत्यु हुनेमा मोदी गाउँपालिका ७ कि ३८ वर्षीया दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेश पौडेल छन् । उनीहरु दिदीभेनाको घरमा पाहुना आएकोबेला पहिरोमा परेका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार कुश्मा ११ कै पकुवा ताल्चेमा पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीया मायाकुमारी पौडेल र उनका ३ वर्षीय छोरा प्रयूश पौडेल र पौडेलकी सासु ७० वर्षीया डल्ली पाध्या पौडेल छिन् । शुक्रबार बिहानकै पहिरोले पर्वत मोदी गाउँपालिका ५ अम्बोटका ५० वर्षीय फूलमाया थापाको ज्यान लिएको थियो । बाढी पहिरोले पर्वतमा सञ्चारविच्छेद भएको छ भने पहिरो गर्दा मुख्य सडकमा समेत क्षति पुगेको छ ।
कास्कीका ७ जनाको मृत्यु यस्तै कास्कीमा बाढीपहिरोमा परी ७ जनाको ज्यान गएको छ । बिहीबार पहिरोले ५ जनाको ज्यान गएको छ । कुश्मा ३ दुर्लुङ सरुञ्चौर बासीको गत जेठ अन्तिममा खसेको पहिरोको घाउ सुक्न नपाउँदै फेरि अर्को पीडा थपियो । शुक्रबार पोखरा ३२ खुदी खोलाले बगाउँदा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए । बेगनास तालबाट आएको खोलाले स्थानीय ६० वर्षीय रमेश मगरको ज्यान लिएको हो । करिब ३० मिटर बगाएर एउटा रुखमा अड्किएको अवस्थामा स्थानीयले फेला पारेका थिए । पहिरोमा परी बिहीबार पोखरा २० भलामका ४५ वर्षीय कृष्ण श्रेष्ठ, उनकी श्रीमती ३५ वर्षीया सुनमाया तामाङको मृत्यु भएको थियो । पहिरोमा परी बेपत्ता भएका श्रेष्ठ दम्पत्तीका ३ वर्षीय छोराको शव शुक्रबार दिउँसोमात्रै फेला परेको छ । पोखरा २० कै मुलाबारीमा पहिरो जाँदा २९ वर्षीय विष्णु सार्की र उनका ८ वर्षीय छोरा सन्तोष सार्कीको मृत्यु भएको थियो । यस्तै, पोखरा ११ नमूनाटोमा पहिरोले घर पुरिँदा ४२ वर्षीय लक्ष्मण सार्कीको मृत्यु भएको थियो ।
जेठयताको बाढीपहिरोमा ११६ को मृत्यु अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० यता ११६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५३ पुरुष, ३४ महिला, १३ बालक र १६ बालिका रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । रातिदेखिको भारी वर्षापछि पहिरोमा परेर पर्वतमा मात्रै आज ११ जनाको ज्यान गएको छ । बाढीपहिरो र डुबानमा परी उक्त अवधिमा १३६ जना घाइते भएका छन् । तीमध्ये ६८ पुरुष, ३७ महिला, २० बालक र ११ बालिका रहेका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादु कुँवरले जानकारी दिए । बाढीपहिरोमा परी ४४ बेपत्ता भएका छन् । उनीहरूको खोजीकार्य जारी छ । बाढीपहिरोमा परेका एक हजार २८९ जनाको विभिन्न ठाउँबाट उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । बाढीको कारण तीन हजार १८२ घर डुबानमा परेका, ९७८ घर, १६४ गोठ, ६६ पुल, आठ विद्यालय र १५ सरकारी कार्यालयमा क्षति पुगेको छ । एक हजार ३०३ वटा पशु मरेका छन । सो अवधिमा भएका जम्मा एक हजार ३४५ विपद्का घटनाबाट एक हजार २६९ परिवारका छ हजार १११ मानिस विस्थापित भएका छन् । उक्त घटनाबाट प्रभावित स्थानमा भएको क्षति न्यूनीकरण, उद्दार, जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
पहिरोले अरुण तेस्रोको विद्युत् गृहस्थल जाने सडक अवरुद्ध पहिरोले संखुवासभामा निर्माणाधीन ९०० मेगावटको अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल पुखुवा जाने छ्याङ्कुटी–दिदिङ सडकखण्ड अवरुद्ध भएको छ । बिहीबार राति पहिरो खस्दा अरुण तेस्रोको विद्युत् गृहस्थल जाने छ्याङ्कुटी–दिदिङ सडकखण्डको चिचिला गाउँपालिकामा सडक अवरुद्ध भएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । लगातारको वर्षापछि छ्याङ्कुटी–दिदिङ सडकका विभिन्न स्थानमा पहिरो खसेको छ । छ्याङ्कुटी–दिदिङ खण्ड अवरुद्ध हुँदा अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल पुखुवा जाने सवारी साधनबीच बाटोमै अलपत्र परेका छन् । अवरुद्ध सडकखण्डको पहिरो हटाउन शुक्रबार दिउँसोदेखि नै थालिएको प्रजिअ पौडेलले बताए । पहिरो हटाउन अरुण तेस्रो आयोजनाको दुई वटा स्काभेटरले काम गरिरहेको प्रजिअ पौडेलले बताए । उनका अनुसार शनिबार दिउँसोसम्म पहिरो हटाउने कामसकेर सडक पुनः सञ्चालन गरिने छ ।
बलान नदीले कटान गर्न थालेपछि स्थानीयवासीमा चिन्ता
बलान नदीले सिरहातर्फ बहाव परिवर्तन गरी जग्गा कटान गर्न थालेपछि स्थानीयवासीमा त्रास बढेको छ । वर्षासँगै आएको बाढीले पानीको बहाव परिवर्तन गरी लहान नगरपालिकाको विभिन्न स्थान र सखुवानन्कारकट्टी गाउँपालिका–४ सिमरहातर्फ कटान गर्न थालेपछि स्थानीयवासीमा त्रास बढेको हो । बलान नदीको बहाव परिवर्तन गरी पश्चिमबाट बग्ने खतरा बढेपछि पश्चिमतर्फका दर्जनौँ गाउँ डुबानमा पर्ने भन्दै स्थानीयवासी त्रसित बनेका हुन् । अविरल वर्षाले बलान नदीमा बाढीको चाप बढेर पानीको बहाव बढेकाले खतराको सम्भावना बढ्दै गएको सखुवानन्कारकट्टी गाउँपालिका–४ सिमरहाका सुरेश यादवले बताए । बाढीको चाप यस्तै रहयो भने पश्चिमतर्फबाट बग्न धेरै समय नलाग्ने र नदीको मुखैमा रहेको सिमराहा, सखुवा, पोर्ताहा, परिहारपुर तिलेबोनालगायत गाउँ डुबानमा पर्ने जोखिमका कारण रातिमा जग्राम बस्नुपरेको स्थानीयवासीको भनाइ छ । तत्काल नदीको बहाव दक्षिणतर्फ गर्ने गरी वैकल्पिक व्यवस्था गर्न उनीहरूले माग गरेका छन् । बलान नदीले कटान गर्ने समस्या विगत लामो समयदेखि रहे पनि सङ्घीय र प्रदेश सरकारबाट समाधानको लागि कुनै पहल नहुँदा यस्तो अवस्था आएको सखुवानन्कारकट्टी गाँउपालिकाका अध्यक्ष केदारनाथ यादवले बताउनुभयो । यसको दीर्घकालीन समाधानको लागि प्रदेश र सङ्घीय सरकारलाई पटक पटक पत्राचार गरे पनि समस्याको दीर्घकालीन समाधान हुन नसकेको उनको गुनासो छ । बलान नदीले लहान नगरपालिकाको–३, १७, १९ र २३ नं मा कटान गरिरहेको छ भने सखुवानन्कारकटी र भगवानपुर गाउँपालिकाका वडामासमेत तीव्र कटान गरिरहेकाले तत्काल रोकथामको व्यवस्था मिलाउनुपर्ने स्थानीयवासीले बताएका छन् । बलान नदीको बाढीले बर्सेनि लहान नगरपालिकाको २३, सखुवानन्कारकट्टी गाउँपालिकाको ४ र ५ तथा भगवानपुर गाउँपालिकाको २, ३, र ४ नं वडामा सयौँ बिघा जमीन कटान गरी किसानलाई सुकुम्वासी बनाउँदै आएका छन् ।
बाढीले पुल बगायो हुम्लाको सिमकोट गाउँपालिका–४ र ३ को बीचमा रहेको काठे पुल बाढीले बगाएको छ । बिहीबार राति आएको बाढीले काठे पुल बगाउँदा वडा १,२,३ र खापुनाथ गाउँपालिका–५ का स्थानीयलगायत बटुवालाई आवतजावतमा कठिनाई बनाएको छ । अविरल वर्षासँगै हेल्दुम खोलामा आएको बाढीले उक्त क्षेत्रको पुल बगाएको स्याम्ने गाउँका स्थानीय भ्यायल महतले जानकारी दिनुभयो । बाढीले काठे पुल बगाएपछि ठेहे, दोजाम, ताक्ला, बाम्टा र बरगाउँ गाउँलगायत अन्य बटुवालाई ओहोरदोहोर गर्न समस्या बनाएको स्थानीय महतले बताए । यस्तै बिहीबार राति आएको बाढीले स्याम्ने गाउँका स्थानीयलाई जोखिम बनाउनुका साथै यस क्षेत्रमा क्षति गरेको बताइएको छ । माथिबाट आएको बाढीले स्याम्ने गाउँका स्थानीय त्रसित भएका छन् । केही वर्ष अगाडि आएको बाढीले स्याम्ने गाउँमा ठूलो क्षतिसमेत गरेको थियो ।