कांग्रेसको १४ औँ महाधिवेशन भोलिदेखि सुरु हुँदै 

पहिलो चरणमा ५६ जिल्लामा वडा अधिवेशनको तयारी 
बिहीबार, भदौ १७, २०७८

काठमाडौँ । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि गाउँ÷नगर वडा अधिवेशन प्रारम्भ हुँदैछ । हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा यही भदौ १८ गतेदेखि वडा अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृतलाई समेत खटाइएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । ती सबै जिल्लामा निर्वाचनका लागि आवश्यक सामग्रीसमेत पठाइसकिएको छ ।
उनले भने, ‘क्रियाशील सदस्यता सूची भएका वडामा सम्भव भएसम्म सबैमा भोलि नै अधिवेशन हुन्छ, केही वडामा नाम छुटेका र मिलाउनुपर्ने भएको अवस्था समितिको रोहवर एक÷दुई दिन पछाडि सार्न सकिन्छ । शुक्रबार कति वडामा अधिवेशन सम्पन्न हुन्छ भन्नेमा चाहिँ अहिले नै यकिन गर्न सकिँदैन ।’
करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ÷नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफनो वडाको वडासमिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्ने कांग्रेस विधानमा उल्लेख छ । वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुईगरी सात पदाधिकारी निर्वाचित गर्ने व्यवस्था छ । यसबाहेक मतदाता संख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।
मुलुकभरका सबै छ हजार ७४३ वडामा अधिवेशन सम्पन्न हुँदा ४७ हजार २०१ पदाधिकारी र सदस्य एक लाख २१ हजार ६८१ निर्वाचित हुने संयोजक यादवले जानकारी दिए । यसबाहेक मनोनित हुनेको संख्या थप रहेको छ । त्यस्तै देशभरका वडाबाट एक लाख १४ हजार ५७५ क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बाँकी २१ जिल्लाको क्रियाशील सदस्यता नामावली क्रमशः प्रकाशित हुँदै जाने र यही भदौ २७ गते निर्धारित गाउँ÷नगरपालिका अधिवेशनसम्म सबै वडाको अधिवेशन सम्पन्न हुने जानकारी दिए । कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागले वडा अधिवेशन आवश्यक प्रक्रिया तथा अन्य सूचनाबारेमा सुसूचित गर्न दृश्य सामग्री प्रसारण गरेको छ ।
कांग्रेसको विधानमा टोल, वडा, गाउँपालिका÷नगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमिति गरी आठ तहगत पार्टी संरचनाको व्यवस्था गरिएको छ ।
कांग्रेसले १४ औँ महाधिवेशनअन्तर्गत गाउँ÷नगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँ÷नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकेको छ ।
यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।
साढे पाँच वर्षपछि हुन लागेको कांग्रेसको आसन्न महाधिवेशनलाई पार्टीका नेताकार्यकताले उत्सवका रूपमा लिएका छन् । अधिवेशनका लागि यतिखेर नेताकार्यकर्ताहरु गाउँगाउँमा पुगेर प्रचार अभियानको अन्तिम चरणमा छन् । 
मुलुक संघीय संरचनामा गइसकेपछि पार्टीको तल्लो तहसम्म निर्वाचनमार्फत आन्तरिक प्रजातन्त्रको अभ्यास गर्ने कांग्रेस पहिलो पार्टी बनेको छ । यसअघि कांग्रेसको १३ औँ महाधिवशेन २०७२ साल फागुनमा सम्पन्न भएको थियो । उक्त महाधिवेशनमा नेताहरु शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच मुख्य प्रतिस्पर्धा भई देउवा सभापतिमा निर्वाचित भएका थिए । 
१४औँ महाधिवेशन रोक्न आदेश माग्दै सर्वाेच्चमा रिट
सर्वाेच्च अदालतमा नेपाली काँग्रेसको १४औँ महाधिवेशन रोक्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले कोरोना नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर कोरोनाको जोखिम न्यूनीकरण भएपछि मात्र महाधिवेशन गर्नुपर्ने आदेशको माग गर्दै उक्त रिट निवेदन दायर गरेका हुन् । 
‘विश्वभरि नै भेला र मेलाका कारण कोरोना सङ्क्रमण फैलिरहेको छ, अहिलेको अवस्था भनेको कोरोना नियन्त्रण मुख्य काम हो’, सांसद वैद्यले भने, ‘कोरोना नियन्त्रणपछि महाधिवेशन गर्नुपर्छ, जनताको जीउज्यान सबैभन्दा ठूलो कुरा हो ।’
पार्टीको महाधिवेशन तत्काल नगर्दा कांग्रेसको वैधानिकतामा कुनै असर नपर्ने रिट निवेदनमा उल्लेख छ । आइतबारका लागि उक्त विषयमा सुुनुवाइ हुनेछ । नेपाली काँग्रेसको १४औँ महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म हुने तय गरिएको छ 
दलित समुदायको अनिवार्य प्रतिनिधित्व गराउने प्रधानमन्त्रीको प्रतिबद्धता
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको आगामी वडा अधिवेशनमा दलित र मुस्लिम समुदायको प्रत्येक वडामा अनिवार्य प्रतिनिधित्व गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । 
कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा र पार्टी केन्द्रीय सदस्यद्वय मानबहादुर विश्वकर्मा तथा जीवन परियारबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा पार्टीको वडा अधिवेशनमा दलित र मुस्लिम समुदायको अनिवार्य प्रतिनिधित्व गराउन आफूले सक्दो पहल गर्ने बताएका हुन् । 
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाल दलित सङ्घका केन्द्रीय अध्यक्ष मीन विश्वकर्माले बुधबार पार्टीको १४औँ महाधिवेशनका लागि हुने प्रतिनिधि छनोटदेखि नै दलित प्रतिनिधित्व नहुने गरी निर्वाचन निर्देशिका बनाइएको भन्दै पार्टीको केन्द्रीय सदस्य र दलित सङ्घको अध्यक्ष पदबाट राजीनामा दिएका थिए । 
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘षड्यन्त्रमूलक ढङ्गबाट दलित समुदायलाई अपमान र अन्याय हुनेगरी लागू गरिने निर्वाचन निर्देशिका दलित सङ्घका लागि मान्य हुँदैन ।’  
दलित समुदायको वडाबाट क्षेत्रीय प्रतिनिधिदेखि महाधिवेशन÷महासमितिसम्म अनिवार्य प्रतिनिधित्वको माग गर्दै नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा नेपाल दलित सङ्घले आज धर्नासमेत दिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८  १९:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार