सवारी दुर्घटनाबाट एक वर्षमा ४८ को मृत्यु

बिहीबार, भदौ १७, २०७८

दमौली । सवारी दुर्घटनाबाट तनहुँमा एक वर्षको अवधिमा ४८ जनाको ज्यान गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७÷७८ को अवधिमा ३७ पुरुष, आठ महिला र तीन बालकले ज्यान गुमाएका छन् । आव २०७६÷७७ मा ४४ र आव २०७५÷७६ मा ६० जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो । पछिल्ला तीन वर्षको अवधिमा जिल्लामा १५२ जनाको सडक दुर्घटनामा परी मृत्यु भएको छ । ट्राफिक प्रहरी कार्यालयका प्रमुख डोलेन्द्रबहादुर हमालले ७२ किलोमिटर पृथ्वीराजमार्ग रहेको तनहुँ खण्डमा गत वर्ष ९० स्थानमा दुर्घटना भएको जानकारी गराए । त्यसक्रममा १२८ सवारी साधन दुर्घटनाग्रस्त भएका थिए । उनका अनुसार मोटरसाइकल र स्कुटर ६६, ट्रक÷ट्याङ्कर १८, जिप÷कार १७, ट्र्याक्टर १७, बस पाँच, माइक्रो चार र एउटा टिपर दुर्घटना भएका थिए । दुर्घटनामा ७६ जना गम्भीर र ५१ जना सामान्य घाइते भएको सो कार्यालयले जनाएको छ । जिल्लामा सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी साधन दुर्घटना हुने गरेका छन् । दुई पाङ्ग्रे सवारी साधन अत्यधिक भएकाले मोटरसाइकल र स्कुटर बढी दुर्घटनामा पर्ने गरेको हमालले बताए । 

प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८  १४:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार