सुरु भएन चक्रपथको दोस्रो खण्डको काम

बुधबार, भदौ १६, २०७८

काठमाडौँ । सडक निर्माण गर्ने स्थान खाली नहुँदा चक्रपथको दोस्रो खण्ड (कलङ्कीदेखि चावहिल धोबीखोलासम्म) को सडक विस्तार अघि बढ्न सकेको छैन । चीन सरकारको सहयोगमा निर्माण गर्न लागिएको सडकमा निर्माणस्थल खाली गर्न थालिएको दुई वर्षमा पनि अझै सकिएको छैन । सो सडकमा अझैसम्म कतिपय व्यक्तिगत घर र विद्युत्का खम्बा हटाउन बाँकी छ । विद्युत्का खम्बा हटाउने काम अन्तिम चरणमा पुगेको छ भने महाराजगञ्ज चोक आसापासमा रहेका घर हटाउन बाँकी रहेको सडक विभागले जनाएको छ । चक्रपथको पहिलो खण्ड निर्माण सम्पन्न भएसँगै दोस्रो खण्डको निर्माण शुरु गर्न खोजिए पनि वर्षौँसम्म निर्माणस्थल खाली हुन नसकेको हो । कहिलेसम्म निर्माणस्थल खाली भइसकेर हस्तान्तरण हुने भनेर टुङ्गो नभएको सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख रामहरि पोखरेलले बताए । समस्या भएको ठाउँ छाडेर बाँकी निर्माणस्थल चिनिँया टोलीलाई हस्तान्तरण गर्न प्रक्रिया अघि बढाइएको छ । उनले भने, “समस्या भएका ठाउँमा समाधान गर्दै अरु ठाउँमा विस्तार अघि बढाइनेछ ।” सडक विस्तारको काम कहिलेबाट शुरु गर्ने भन्ने अन्योल रहेको छ । महाराजगञ्ज क्षेत्रमा २४४ मिटर लम्बाइमा समस्या रहेकाले त्योबाहेक हस्तान्तरण गर्ने योजना बनाइएको प्रमुख पोखरेलले बताए । विभागले सो विषयमा मन्त्रालयमा फाइल पठाइएको थियो । अहिलेसम्म फाइल फर्किएर नआएकाले उनले बताए । उनले भने, “महाराजगञ्ज चोकमा पनि चक्रपथको बाहिरी भाग बुढानिलकण्ठतर्फ समस्या छ, बाँकी ठाउँमा काम अघि बढाउन सकिन्छ ।” चीन सरकारले निर्माण गर्ने आठ लेनमा नै निर्माणस्थल खाली गर्न लागिएको हो । त्यसभन्दा बाहिरी भागमा समस्या भए पनि विस्तारै खाली गरिने विभागले जनाएको छ । विगतमा स्वयम्भु नजिकै रहेको स्तुपा निर्माणस्थलमा रहेकामा त्यसमा छलफल भइरहेको छ । महाराजगञ्ज क्षेत्रमा सडकको अधिकार क्षेत्रमा पर्ने घरधनीले सो स्थानमा रहेका संरचना हटाउन मुआब्जाको माग गरेका छन् । स्थानीयवासीले मुआब्जा माग गरे पनि विभागले पहिले नै सो जग्गा विभागको स्वामित्वमा रहेको बताउँदै आएको छ । विसं २०३० मा जग्गा सडकको स्वामित्वमा ल्याएको सूचना निकालिएकाले अहिले मुआब्जा दिनु नपर्ने विभागले भनेको छ । स्थानीयवासी भने मुआब्जा चाहिने बताउँदै आएका छन् । व्यक्तिगत सम्पत्तिको विषय भएकाले कागजात प्रष्ट भएपछि मात्रै मुआब्जा दिन मिल्ने वा नमिल्ने भन्ने टुङ्गो लगाइने उनले बताए । सडक विभागले चिनियाँ टोलीलाई डिजाइन प्रस्ताव गर्दा प्रत्येक किमीमा आकाशे पुल र सवारी चाप बढी भएका चोकमा ‘अण्डर पास’ र ‘ओभर पास’ को प्रस्ताव गरेको छ । विभागले गरेको प्रस्तावअनुसार नै हुने नहुने भनी उसको विस्तृत डिजाइन आएपछि मात्रै थाहा हुने बताइएको छ । विस्तृत डिजाइन आएपछि नै कति काम चिनियाँले गर्ने र कति सरकारले गर्ने भनी टुङ्गो हुने प्रमुख पोखरेलले बताए । चक्रपथको पहिलो खण्डमा पनि चीन सरकारले आठ लेन निर्माण र तीन आकाशे पुल बनाएको थियो । सडक विभागले छ स्थानमा आकाशे पुल र मुख्य सडकका दुवैतर्फ एकएक लेनको ‘सर्भिस ट्रयाक’ निर्माण गरेको थियो । उनले भने, “अहिले पनि उसले गरेर बाँकी काम हामीले नै गर्नेछौँ ।” काठमाडौँ उपत्यकाका अधिकांश स्थानमा सडक निर्माण गर्दा त्यहाँ रहेका संरचना हटाउन नसकिँदा निर्माणमा ढिलाइ हुने गरेको छ । सडकमा रहेका संरचना र त्यसको व्यवस्थापनका विषयमा शहरी विकास मन्त्रालयले विधेयक बनाउने भने पनि अझै संसद्मा पेश भइसकेको छैन । अधिकांश स्थानमा निर्माणका लागि ठेक्का सम्झौता हुँदासम्म निर्माणस्थल खाली भएको हुँदैन । चीन सरकारको सहयोगमा निर्माण भएको कोटेश्वर–कलङ्की सडकमा पनि त्यहाँ रहेका संरचना (युटिलिटि) हटाउन समय लागेकाले ढिलाइ भएको थियो । निर्माण शुरु भएपछि समयमै सकाउन यो खण्डमा चिनियाँले पहिले निर्माणस्थल खाली गर्न भनेको छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  १६:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार