सोसल मिडिया
Contact Us
युनिकोड
नयाँदिल्ली । भारतमा केन्द्रीय सरकारका प्रतिनिधि र आन्दोलनरत किसानका प्रतिनिधिका बीचमा सोमबार आठौँ चरणको वार्ता भएको छ । आठौँ चरणसम्म पनि वार्ता निश्कर्षमा नपुगेकाले नवौँ चरणको वार्ता जनवरी ८ तारिख दिउसो २ बजे गर्ने सहमति भएको छ । सोमबार विहान सुरु भएको वार्तामा दुवै पक्षले आ आफ्नो अडान नत्यागेको र सहमती हुने नयाँ उपाय नभेटिएकोले सहमति हुन नसकेको अधिकारीहरूले जनाएका छन् । वार्ताका क्रममा किसानका प्रतिनिधिहरूले कृषि सम्वन्धी तीनवटै कानुन तत्काल फिर्ता लिनुपर्ने माग राखेका थिए । वार्तामा सरकारको तर्फबाट मन्त्रीहरू नरेन्द्र सिंह टोमर, पियुष गोयल र सोम प्रकाशसहित सरकारी उच्च अधिकारीहरू सहभागी थिए । वार्तामा बसेका किसानका प्रतिनिधिहरूले प्रदर्शनका क्रममा निधन भएका किसानको स्मृतिमा दुई मिनेट मौन धारण गरेका थिए । वार्तापछि भारतीय किसान युनियनका प्रवक्ता राकेश टिकैटले आफ्ना मागहरू पुरा नहुँदासम्म सहमत हुन नसकिने भएकाले वार्ता टुंगोमा नपुगेको जानकारी दिए । भारतमा कृषिसम्वन्धी तीनवटा कानून तत्काल फिर्ता हुनु पर्ने माग गर्दै किसानहरूले एक महिनाभन्दा बढी समयदेखि आन्दोलन गरिरहेका छन् ।– एएनआई