सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । कोरोनाभाइरस संक्रमण फैलिने जोखिमका कारण विगत १० महिनादेखि बन्द रहेका विद्यालयहरू भौतिक रूपमै खोल्ने तयारी सरकारले गरिरहेका बेला अभिभावक महासंघ र जनस्वास्थ्यविद्हरूले हतार नगर्न सरकारलाई आग्रह गरेका छन् । कोभिड–१९ रोकथामसम्बन्धी उच्चस्तरीय निर्देशक समितिले अवस्था सहज बन्दै गएको भन्दै स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्नका लागिसरकारलाई सिफारिस गरेको छ । मन्त्रिपरिषद्ले निर्णय गरेसँगै उक्त सिफारिस कार्यान्वयनमा आउनेछ । विद्यार्थीहरू विद्यालयमै गएर पढ्न पाउनेछन् । तर जनस्वास्थ्यविद्ले भने सरकारले संक्रमणको जोखिम यथावत् रहेको र विभिन्न मुलुकमा कोरोनाभाइरसको नयाँ प्रकार देखिएका बेला विद्यालय खोल्न हतार गर्न नहुने बताएका छन् । जनस्वास्थ्यविद् डा. शरदराज वन्त भन्छन्, ‘अहिलेको जाडो मौसममा बालबालिकालाई भौतिक रुपमा विद्यालय पठाउँदा कोरोनाभाइरसको अर्को लहर सुरु हुनसक्छ । जाडो नसकिँदासम्म हतार नगरेकै ठिक भन्ने मलाई लाग्छ ।’ कोरोनाभाइरस नियन्त्रण र रोकथामका लागि सरकारले गत वर्ष चैतदेखि देशभरिका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । त्यसयता इन्टरनेट वा अन्य वैकल्पिक माध्यमबाट विद्यालयको पठनपाठन गरिएको भए पनि भौतिक रूपमा भने अधिकांश विद्यालयहरू औपचारिक रूपमा खुलेका छैनन् । कात्तिक तेस्रो साता सरकारले विद्यालय खोल्नका लागि स्थानीय निकायले अवस्था हेरेर निर्णय गर्न सक्ने भन्दै विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा पनि जारी गरेको थियो । त्यसयता कतिपय क्षेत्रमा भौतिक रूपमा विद्यालय खुले पनि अधिकांश ठाउँमा भने खुल्न सकेका छैनन् । ‘दश महिना त बन्द भइसक्यो भने अब माघ महिनाभरि नखोल्दा हुन्थ्यो भन्ने हाम्रो सुझाव हा’, अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी भन्छन्, ‘त्यतिन्जेल अहिलेकै वैकल्पिक माध्यमको पढाइ जारी राख्ने र माघमा अवस्था विश्लेषण गरेर विद्यालय खोल्ने निर्णय गर्दा राम्रो हुन्थ्यो भन्ने हामीलाई लागेको छ ।’ तर शिक्षा मन्त्रालयले भने यसअघि सार्वजनिक भएको कार्यढाँचा अनुसार स्वास्थ्य सुरक्षासम्बन्धी सम्पूर्ण मापदण्ड पु¥याएर विद्यालय खोल्न सकिने छ ।अभिभावक र जनस्वास्थ्यविद्को सुझाव मिश्रित रहेको र अन्य क्षेत्र खुलिसकेका बेला विद्यालय पनि खोल्न सकिने परिस्थिति देखिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताएका छन् । उनी भन्छन्, ‘कतिपय कामकाजी अभिभावकले बालबालिकालाई घरमा हेर्न गाह्रो भएको बरु विद्यालय खुले सजिलो हुने पनि भनेका छन् । बालबालिकालाई खोप लगाउन नपर्ने भन्ने पनि छ । यस्तो अवस्थामा विद्यालयको क्षमताअनुसार विद्यार्थी संख्या बोलाउन र संक्रमित देखिए पुनः बन्द गरिनेछ ।’ कोरोनाभाइरसको संक्रमणको स्थिति विश्लेषण गरेर रोक लगाउन सक्ने अधिकार जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रसँग रहने भनिएकोले सरकारको विद्यालय खोल्ने तयारी स्वागतयोग्य भएको प्याब्सनका राष्ट्रिय अध्यक्ष टीकाराम पुरीले बताए । ‘अरू सबै क्षेत्रमा चाहिँ जोखिम नहुने र विद्यालयमा मात्रै हुने भन्ने त होइन । सम्पूर्ण स्वास्थ्यसम्बन्धी मापदण्ड पु¥याएर खोल्ने अनि केही समस्या देखिए रोक्ने भन्ने त छँदैछ’, पुरीले भने । भर्चूअल माध्यमबाट भइरहेको पढाइ भौतिक रूपमा उपस्थित भएर गरिनेभन्दा कम प्रभावकारी भएको भन्दै कतिपय अभिभावकहरूले विद्यालय खुलोस् भन्ने अपेक्षा राखेको पनि उनको भनाइ छ । गत वर्ष चैत महिनादेखि बन्द रहेका विद्यालयहरू स्थानीय रूपमा केही स्थानमा सञ्चालनमा रहे पनि अधिकांश विद्यालयले भर्चूअल वा अन्य वैकल्पिक माध्यममार्फत् मात्रै पढाइ सञ्चालन गरेका छन् । त्यसरी सञ्चालनमा रहँदा विद्यार्थीको ठूलो संख्या शिक्षाबाट वञ्चित भएको छ । त्यसले विद्यालय शिक्षामा बालबालिकाको पहुँचसम्बन्धी विभिन्न कार्यक्रम पनि प्रभावित भएको छ । बीबीसीको रिपोर्ट