बेलायतमा विद्यालय खोल्ने तयारी

सोमबार, पुस २०, २०७७
Global Ime Bank

लन्डन । कोरोनाभाइरस सङ्क्रमणका घटनामा वृद्धि भएपछि विश्वव्यापी समस्या बनेको कोभिड–१९ सँगको प्रतिरोधी कदमका रूपमा कडा प्रतिबन्धात्मक नियमलाई लागु गर्नुपर्ने अवस्था आउनसक्ने बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बताएका  छन् । यद्यपि हाल बेलायती विद्यालय सञ्चालनका लागि समस्या नभएको भन्दै क्रिसमसपछि आफ्ना नानीबाबुहरूलाई विद्यालय पठाउन प्रधानमन्त्री जोनसनले आग्रह गरे । विद्यालय खोल्नुहुन्छ कि हुँदैन भन्ने विषयमा विगतमा जोनसन र सत्ताधारी दलकै कतिपय नेताहरूमा विवाद उत्पन्न भएपनि अहिले विद्यालय सञ्चालन गर्न सकिनेमा धेरैजसो सहमति नजिक रहेका छन् । ‘हामीले आउँदो केही हप्ताहरूमा देशको धेरै भागहरूमा कडा प्रतिबन्धात्मक नियमहरू लगाउन आवश्यक पर्नसक्छ’ जोनसनले बीबीसीको द एन्ड्र्यू मारको कार्यक्रममा भने, ‘म सम्पूर्ण रूपमा प्रतिबन्ध लगाउनुपर्नेमा सहमत बनेको छु ।’ 
विद्यालयहरू लामो समयदेखि बन्द रहँदा सुन्दर भविष्यको कल्पना गरी विद्यालय जाने लाखौँ विद्यार्थीको पढाइमा समस्या भएको बताउँदै प्रधानमन्त्री जोनसनले अभिभावकहरूलाई आग्रह गरे, ‘तपाइहरूले क्रिसमसपछि खुला गरिने विद्यालयमा आफ्ना नानीबाबुहरूलाई पठाएर सहयोग गर्नुपर्छ ।’ बेलायतले शनिबार ५७ हजार ७२५ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको थियो । यो महामारी सुरुभएदेखि नै सङ्क्रमित हुनेको सबैभन्दा बढी सङ्ख्या हो । अत्यधिक विरामीको चाप रहने समयमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या यसरी नै बढ्दै गएमा यसले अस्पताल तथा स्वास्थ्य सेवाहरूलाई नै प्रभावित गर्नसक्ने भन्दै स्वास्थ्य अधिकारीहरूले भने चिन्ता व्यक्त गरेका छन् । 
‘मैले नागरिकको निराशालाई बुझ्छु । उनीहरूको चिन्तालाई बुझ्छु तरपनि मेरो विचारमा अहिले विद्यालय सञ्चालन गर्नका लागि सुरक्षित छन् र शिक्षा उच्च प्राथमिकताको विषय पनि हो’, प्रधानमन्त्री जोनसनले भनेका छन, ‘स्कूलहरू खुला राख्ने वातावरण प्रत्याभूत गर्नका लागि हामीले देशभर यस महामारीमा कडा संघर्ष ग¥र्यौं ।’ तर नेशनल एसोसिएसन अफ हेड टीचर्सका नेता पाउल ह्वाइटम्यानले सरकारलाई क्रिसमसको विदापछि पनि विद्यालयहरू पुनः सञ्चालन गरिनहाल्न आग्रह गरेका छन् । ‘यसले हामी सहिष्णुतालाई सहमतिमा बदल्न सक्नेछौँ र उनीहरूलाई कोभिडबाट सुरक्षित बनाउन सक्नेछौँ’ ह्वाइटम्यानले भने । विद्यार्थीहरू लामो समय विद्यालयबाट टाढा रहँदा बालबालिकाको प्रगतिमा दीर्घकालीन प्रभाब पर्ने शिक्षाविदहरूको तर्क रहेको प्रधानमन्त्री जोनसनले बताए । बेलायतमा कोभिड–१९ को महामारीका कारण कम्तीमा ७४ हजार व्यक्तिको मृत्यु भइसकेको छ भने करिब २६ लाख सङ्क्रमित भएको सरकारी तथ्याङ्क छ । बेलायतले अस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोभिडविरूद्धको खोप प्रयोगका लागि अनुमति दिइसकेको छ । करिब पाँच लाख ३० हजार खोपलाई सोमबारदेखि लगाउने व्यवस्था सरकारले मिलाएको छ ।– एएफपी
 

प्रकाशित मिति: सोमबार, पुस २०, २०७७  ०४:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार