Tihar Banner
Tihar Banner
हेटौँडामा तिहारलक्षित मेला

स्थानीय उत्पादनको प्रवद्र्धनमा जोड

शनिबार, कात्तिक २१, २०८३

हेटौँडा । तिहार सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ। यही अवसरमा स्थानीय उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवद्र्धन तथा बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको हेटौँडामा तिहारलक्षित मेला आयोजना गरिएको छ । हेटौँडा उपमहानगरपालिकाको सहयोग तथा कञ्चनजङ्घा कृषि सहकारी संस्थाको आयोजनामा दुईदिने मेला सञ्चालन गरिएको हो। शनिबारदेखि सुरु भएको मेला आइतबारसम्म चल्नेछ । मेलामा स्थानीय उद्यमीले उत्पादन गरेका विभिन्न सामग्री बिक्री तथा प्रदर्शनीका लागि राखिएका छन् । तिहारमा आवश्यक पर्ने सामग्री एकै ठाउँमा उपलब्ध गराउनुका साथै स्थानीय उत्पादनलाई उपभोक्तासम्म प्रत्यक्ष पु¥याउने उद्देश्यले मेला आयोजना गरिएको हो। मेलामा २० वटा स्टल राखिएका छन् । ती स्टलमा ढाकाका टोपी, पछ्यौरा, फूलमाला, भाइ मसला लगायत तिहारमा प्रयोग हुने विभिन्न सामग्री राखिएका छन् । स्थानीय उद्यमीले आफ्नै उत्पादनसहित मेलामा सहभागिता जनाएका छन् । यसले उपभोक्तालाई स्थानीय उत्पादनबारे जानकारी लिन तथा उत्पादकसँग प्रत्यक्ष सम्पर्क गरी सामग्री खरिद गर्न सहज बनाएको छ । कञ्चनजङ्घा कृषि सहकारी संस्थाकी अध्यक्ष चिनीमाया गुरुङले स्थानीय उद्यमीले उत्पादन गरेका सामग्रीलाई उपभोक्तासम्म प्रत्यक्ष पहुँच पुर्‍याउने र उनीहरूको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले मेला आयोजना गरिएको बताइन्। उद्यमीहरूबीच भेटघाट तथा अनुभव आदानप्रदानको अवसर सिर्जना गर्नु पनि मेलाको उद्देश्य रहेको उनको भनाइ छ । स्थानीय स्तरमा उत्पादित सामग्रीले बजार पाउने वातावरण निर्माण गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गरिएको छ । चाडपर्वका बेला बाहिरबाट आयातित सामग्रीको प्रयोग बढिरहेका बेला स्थानीय उत्पादनलाई प्राथमिकता दिन र स्थानीय उद्यमीलाई प्रोत्साहन गर्न मेला उपयोगी हुने आयोजकको विश्वास छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २१, २०८३  १९:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार