हिमपात र पहिरोले हिल्सा–सिमकोट सडक बन्द, दसैँको मुखमा आवागमन प्रभावित

शनिबार, असोज १७, २०८३

सुर्खेत । हिमपात र पहिरोका कारण हुम्लाको सदरमुकाम सिमकोटदेखि नेपाल–चीन सीमास्थित हिल्सा जोड्ने सडक अवरुद्ध भएको छ । नाम्खा गाउँपालिका–४ यालबाङ र सिमकोट गाउँपालिका–७ ठाडोढुङ्गामा सडक अवरुद्ध भएपछि हिल्सा–सिमकोट सडकखण्ड पूर्ण रूपमा बन्द भएको हो । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार दुवै स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । माथिल्लो हिमाली क्षेत्रमा १२ किलोमिटरभन्दा बढी सडकमा हिउँ जमेकाले सडक सञ्चालनमा ल्याउन चुनौती देखिएको प्रशासनले जनाएको छ । सडक बन्द हुँदा हिल्सा तथा नाम्खा गाउँपालिकाका विभिन्न बस्तीबाट सिमकोट आउने नागरिक प्रभावित भएका छन् । दसैँ नजिकिँदै गर्दा घर फर्कने नागरिक, स्थानीय व्यापारी तथा पर्यटकलाई आवतजावतमा समस्या भएको छ । सडकमार्फत ढुवानी हुने दैनिक उपभोग्य सामग्री तथा स्थानीय उत्पादनको ओसारपसारमा समेत असर परेको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले अवरुद्ध सडकलाई एक साताभित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको बताए । तत्काल थप हिमपात नभए उक्त अवधिभित्र सडक खुलाउन सकिने उनको भनाइ छ । ‘दुर्गम तथा हिमाली क्षेत्रमा सबै सामग्री एकैपटक उपलब्ध हुँदैन । स्रोतसाधन जुटाउन नै समस्या हुने भएकाले काम गर्न कठिन हुने गरेको छ,‘ उनले भने । यसैबीच सल्लीसल्लादेखि सिमकोटसम्मको सडकखण्ड भने पहिरो तथा ढुङ्गा पन्छाएर सञ्चालनमा ल्याइएको प्रशासनले जनाएको छ । तर, सिमकोटदेखि हिल्सासम्मको सडकखण्डका विभिन्न स्थानमा हिमपात र पहिरोका कारण यातायात सञ्चालन हुन सकेको छैन । माथिल्लो हिमाली क्षेत्रमा भारी हिमपात भएपछि सडकको लामो दूरीमा हिउँ जमेको छ । हिउँ पन्छाउन आवश्यक मेसिन तथा जनशक्ति परिचालन गर्नसमेत कठिनाइ भइरहेको प्रशासनले जनाएको छ । हिल्सा–सिमकोट सडक हुम्लाको उत्तरी क्षेत्रलाई सदरमुकामसँग जोड्ने मुख्य मार्ग हो । नाम्खा गाउँपालिकाका विभिन्न बस्तीका नागरिक स्वास्थ्य उपचार, दैनिक उपभोग्य सामग्री खरिद तथा सरकारी कामका लागि यही सडकमार्फत सिमकोट आउने–जाने गर्छन् । सडक अवरुद्ध भएपछि अत्यावश्यक कामका लागि यात्रा गर्नुपर्ने नागरिकले वैकल्पिक रूपमा हेलिकोप्टर प्रयोग गर्नुपर्ने अवस्था आएको छ । तर, हेलिकोप्टरको भाडा महँगो भएकाले सर्वसाधारणमाथि थप आर्थिक भार परेको स्थानीयको गुनासो छ ।

ताक्लाकोटबाट फर्किएका नेपाली हिल्सामै रोकिए

हिमपातका कारण चीनको ताक्लाकोटबाट फर्किएका केही नेपाली नागरिक हिल्सा क्षेत्रमा रोकिएका छन् । नाम्खा गाउँपालिकाका विभिन्न वडाका नागरिक ताक्लाकोटबाट फर्कने क्रममा हिल्सामा रोकिएको बताइएको छ । मौसम तथा सडकको अवस्था सहज नभएसम्म उनीहरूलाई हिल्साबाट सिमकोटतर्फ आउन कठिन हुने भएको छ । सडक खुलाउन ढिलाइ भए दसैँ मनाउन घर फर्कने नागरिक थप प्रभावित हुने देखिएको छ । हिल्सा नाका चीनको ताक्लाकोट हुँदै कैलाश मानसरोवर जाने नेपाली तथा विदेशी पर्यटकका लागि महत्वपूर्ण मार्ग हो । सडक अवरुद्ध हुँदा हिल्सा क्षेत्रको पर्यटन तथा व्यापारिक गतिविधिमा समेत असर परेको छ । पर्यटन व्यवसायी नोर्बु लामाले भोटेकोसीमा आएको बाढीपछि हुम्लाका सबै पर्यटकीय क्षेत्र बन्द भएको भन्ने गलत सूचना फैलिँदा पर्यटन क्षेत्रमा थप असर परेको बताए । हुम्लाका सबै पर्यटकीय क्षेत्र बन्द नभएको भन्दै उनले पर्यटकीय क्षेत्रको वास्तविक अवस्थाबारे सही सूचना प्रवाह गर्नुपर्नेमा जोड दिए । भोटेकोसीमा आएको बाढीका कारण अन्य नाका प्रभावित भएपछि हिल्सा नाका व्यापार तथा आवागमनका दृष्टिले थप महत्वपूर्ण बनेको छ । यस्तो अवस्थामा हिल्सा–सिमकोट सडकसमेत अवरुद्ध हुँदा सीमावर्ती क्षेत्रको व्यापार, ढुवानी तथा आवागमनमा थप समस्या भएको छ । प्रशासनले तत्काल थप हिमपात नभए एक साताभित्र सडक सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । सडक खुलेपछि दसैँमा घर फर्कने नागरिकको आवागमन सहज हुनुका साथै सीमावर्ती क्षेत्रको व्यापार तथा पर्यटन गतिविधि नियमित हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: शनिबार, असोज १७, २०८३  ११:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार