कोरला नाकामा हिमपात, तल्लो मुस्ताङमा वर्षा

नेपाल–चीन व्यापारमा असर पर्ने
शुक्रबार, असोज ९, २०८३

मुस्ताङ । मुस्ताङको उत्तरी चीनसँगको सीमावर्ती कोरला नाका क्षेत्रमा सामान्य हिमपात भएको छ । उच्च हिमाली क्षेत्रमा मौसममा आएको परिवर्तनसँगै चिसो बढ्ने सम्भावना रहेको छ । लोमान्थाङदेखि कोरला नाकासम्मका भूभागमा हिमपात हुँदा सीमावर्ती क्षेत्रको जनजीवन, आवतजावत तथा व्यापारिक गतिविधिमा असर पर्नसक्ने देखिएको छ । कोरला नाका हुँदै सञ्चालन भइरहेको नेपाल–चीन व्यापार तथा मालवाहक कन्टेनर आवागमनमा मौसम प्रतिकूल बने थप समस्या आउन सक्नेछ । हिमपातसँगै चिसो बढ्दा मालवाहक कन्टेनर तथा अन्य सवारीसाधन सञ्चालनमा समेत समस्या आउन सक्ने एक कन्टेनर चालकले बताए । उनका अनुसार अत्यधिक चिसोका कारण गाडी स्टार्ट नहुनेलगायत समस्या आउन सक्ने सम्भावना रहन्छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार जिल्लाको लोमान्थाङदेखि घाँसासम्म तथा मुक्तिनाथदेखि तल्लो मुस्ताङका क्षेत्रमा भने वर्षा भइरहेको छ । उनका अनुसार हिमपातका कारण जिल्लामा हालसम्म कुनै अप्रिय घटना भएको छैन । यसैबीच, स्थानीय बासिन्दाले हिमपात र वर्षालाई हिउँद तथा चिसो मौसमको सुरुवातको संकेतका रूपमा लिने गरेका छन् । घरपझोङ गाउँपालिका–५ का ८३ वर्षीय कालबहादुर थकालीका अनुसार हिउँदको आगमनको संकेत गर्न हिमाली क्षेत्रमा प्रत्येक वर्ष यस समयमा पर्ने पानी तथा हिमपातलाई स्थानीय भाषामा ‘तन्जे नन्जे’ भन्ने गरिन्छ । कहिलेकाहिं तन्जे नन्जेले उग्ररुप पनि लिनसक्छ ।  थकालीका अनुसार पहिले क्यालेन्डरको प्रचलन नहुँदा मुस्ताङका स्थानीय बासिन्दाले मौसम परिवर्तन, वर्षा र हिमपातका आधारमा ऋतु तथा समयको अनुमान गर्ने गर्थे । अहिले पनि यस्ता प्राकृतिक संकेतलाई हिउँद र चिसो सुरु हुने संकेतका रूपमा बुझ्ने गरिएको उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३  १३:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार