महाकाली घटना : छानविन समिति नेपालतर्फको घटनास्थल अवलोकनका लागि व्यास प्रस्थान

शुक्रबार, साउन २२, २०७८

दार्चुला । महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानविन गर्न गठित छानविन समितिका पदाधिकारी  व्यासको माल प्रस्थान गरेका छन् । बिहीबार भारतीय बाटो हुँदै घटनास्थल पुगेकोे सो टोली नेपालतर्फको घटनास्थल हेर्न हेलिकप्टरमार्फत आज त्यसर्फ प्रस्थान गरेको हो । समितिले व्यास गाउँपालिका– २ मालघाटको स्थलगत निरीक्षण  तथा पीडित परिवारसँग छलफल गर्ने छ ।  गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको सो छानविन समिति गत मङ्गलबारदेखि यहाँ छ । यही साउन १५ गते माल गाउँबाट सदरमुकाम खलङ्गा आउने क्रममा जयसिंह महाकाली नदीमा बेपत्ता भएका थिए । प्रत्यक्षदर्शीले भारतीय सीमासुरक्षा बल एसएसबीले तुइन काटिदिँदा धामी बेपत्ता भएका हुन् ।   छानविन समितिमा सहसचिव गौतमहित सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य छन् ।  सो समितिले घटनास्थलमा खटिएका अनुसन्धान टोली, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, घटनाका प्रत्यक्षदर्शी, सञ्चारकर्मी, मानव अधिकारकर्मी, राजनीतिक दल र व्यासका जनप्रतिनिधिसँग छलफल गरेको थियो । अहिलेसम्म धामीको शव भेटिएको छैन । आफन्तले मृतकको कुसको मूर्ति बनाएर अन्येष्टि गरिसकेका छन् । पीडित परिवारले उचित क्षतिपूर्ति तथा बालबच्चाको पालनपोषणको जिम्मा राज्यले लिनुपर्ने माग गरेको छ ।

छानबिन समितिद्वारा भारततर्फको घटनास्थल निरीक्षण
यसअघि जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न आएको समिति सात दिनपछि भारतीय बाटो हुँदै घटनास्थल पुगेर फर्किएको छ । नेपाल र भारतका सुरक्षा अधिकारीसहित छानबिन टोली घटनास्थल निरीक्षणमा पुगेको हो ।
व्यास गाउँपालिका–२ मालघाटको स्थलगत निरीक्षण गर्न नेपाली सुरक्षा अधिकारी र छानबिन समिति भारतीय एसएसबीसँगै घटनास्थल पुगेका हुन् । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन टोली दार्चुलाबाट धारचुला भारत हुँदै गस्कु–मालघाट पुगेको थियो । घटनास्थल पुगेको समितिले तुइन बाँधिएको रूखको नापजाँच लिएको छ । यसअघि जिल्लाबाट खटिएको अनुसन्धान टोलीले दिएको विवरणअनुसार घटनास्थलको निरीक्षण गरिएको अनुगमन समितिका सदस्य एवं सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले बताइन् । महाकाली तर्न नेपालतिर काठको खम्बा गाडिएको छ भने भारततर्फ टुडीको रूख छ, तर दुवैतर्फ तार छैन । रूखबाट तार झिकेको हो कि काटेको हो भन्ने देखिने गरी प्रमाण केही नदेखिएको अधिकारीहरु बताउँछन् । महाकाली नदी वारिपारि झण्डै ४५ मिटर छ ।  छानबिन समिति घटनास्थल भएको ठाउँबाटै फर्किएको जोशीले बताइन् । “भारतीय एसएसबीले सहजीकरण मात्रै गरिदिएको हो”, उनले भनिन्,   “त्योबाहेक अन्य विषयमा छलफल भएको छैन ।”   छानबिन टोलीसँगै सशस्त्र प्रहरी ४४ नं गण दार्चुलाका गणपति नरेन्द्र बम तथा जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्ट पनि घटनास्थल पुगेका थिए । भारतका तर्फबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी) कमान्डेन्ट महेन्द्रप्रताप सिंह नेतृत्वको टोली सहभागी थियो । 

छानबिन टोली एसएसबीसँगै आएको भन्दै प्रदर्शन
नेपालतिरबाट छानबिन समिति नआएको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी कार्यकर्ता र स्थानीयवासीले तुइन भएकै क्षेत्रमा पुगेर नाराबाजी गरेका थिए । उनीहरुले राष्ट्रिय झण्डा र चन्द नेतृत्वको झण्डा देखाउँदै नेपालबाट आएर पनि अनुसन्धान गर्न माग गरेका थिए । “एसएसबीले नै घटना घटाउने अनि उनीहरुसँगै गएर अनुसन्धान गर्नुको औचित्य छैन”, चन्द नेतृत्वको नेकपा माओवादीका जिल्ला सचिव सुवास मल्लले भने, “आफ्नो भूमिमा पाइला नटेकेर भारतीय एसएसबीकै इसारामा प्रतिवेदन बनाउन यो नाटक गरिएको हो । यसको हामीले भन्दा पनि जनताले नै विरोध गरेका हुन् ।” आफ्नो तर्फबाट बाटो बनाउन नसक्ने सरकारले छानबिन गर्न पठाएको समिति पनि भारतीय एसएसबीको निगरानीमा पठाएपछि कस्तो प्रतिवेदन आउला ?, आफैँ अनुमान लगाउनुस्”, उनले भने । 

प्रत्यक्षदर्शीलाई प्रहरीको सहयोगमा गाउँ पठाइयो

जयसिंह धामीको घटनाका प्रत्यक्षदर्शी कल्यानसिंह धामी, विक्रम रङ्कोली र अनिता धामीलाई प्रहरीले बिहीबार नेपालकै बाटो भएर गाउँ पु¥याएको छ । यही साउन १८ गते सोधपुछका लागि प्रहरीको निगरानीमा खलङ्गा पु¥याइएका तीनै जनालाई सोधपुछपछि गाउँ पु¥याइएको हो । खलङ्गामा रहँदा उनीहरुसँग भेट्न पत्रकार मानवअधिकारकर्मीलाई रोक लगाइएको थियो । बुधबार सोधपुछ सकिएपछि राति अबेर आफन्तको जिम्मा लगाई तीनै जनालाई बिहीबार बिहान ५ बजे खलङ्गाबाट हिँडाइएको हो ।
बाटोमा गाउँका स्थानीयवासी गए पनि उनीहरुसँग सम्पर्क गर्न दिइएको थिएनन् । प्रत्यक्षदर्शी र गाउँका स्थानीयवासीलाई अलगअलग हिँड्न लगाइएको थियो । प्रत्यक्षदर्शीबाट लिइएको बयानमा दस्तखत गर्न प्रहरी तिमुरपाटा पुगेको थियो ।
बुधबार दिनभरि जिल्ला प्रशासन कार्यालय र महाकाली नगरपालिकाभित्र उनीहरुको बयान लिइएको थियो तर दस्तखत गर्न छुटेको भन्दै प्रहरीले उनीहरुलाई तिमुरपाटामा रोकाएर दस्तखत गराएको थियो । प्रत्यक्षदर्शीसँग दुईजना प्रहरी पठाइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०७८  १४:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार