युवा उद्यमीलाई सहयोग गर्न नेपाल चेम्बर प्रतिबद्ध : अध्यक्ष अग्रवाल

आइतबार, असार २१, २०८३

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको आर्थिक समृद्धिका लागि युवा उद्यमीहरूको भूमिका निर्णायक रहेको बताएका छन् । नेपाल युथ चेम्बरको सदस्यता प्रदान तथा पदस्थापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले युवा नेतृत्व अब भविष्यको मात्र नभई वर्तमानको आवश्यकता बनेको उल्लेख गरे । उनले विश्व अर्थतन्त्र तीव्र रूपमा परिवर्तन भइरहेको उल्लेख गर्दै डिजिटल रूपान्तरण, कृत्रिम बुद्धिमत्ता (एआई), हरित नवप्रवर्तन, उद्यमशीलता तथा ज्ञानमा आधारित उद्योगहरूले व्यापार सञ्चालनको स्वरूप परिवर्तन गरिरहेको बताए । यस्तो परिवर्तित परिवेशमा युवाहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । अग्रवालले नेपालमा ऊर्जाशील, प्रतिभाशाली र महत्वाकांक्षी युवा जनशक्ति रहेको उल्लेख गर्दै नवप्रवर्तन, उद्यमशीलता, लगानी तथा रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने वातावरण निर्माण गर्न सके यसलाई आर्थिक समृद्धिको आधार बनाउन सकिने बताए । उनले नेपाल युथ चेम्बरलाई युवा उद्यमीहरूको नेतृत्व विकास, विचार आदान–प्रदान, अन्तर्राष्ट्रिय सञ्जाल विस्तार तथा राष्ट्रिय आर्थिक नीतिमा अर्थपूर्ण योगदान गर्ने प्रभावकारी मञ्चका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । नेपाल चेम्बर अफ कमर्स युवा उद्यमीहरूको क्षमता अभिवृद्धि, नीतिगत वकालत, व्यापारिक सञ्जाल विस्तार, अन्तर्राष्ट्रिय साझेदारी, डिजिटल रूपान्तरण तथा नवप्रवर्तनमुखी कार्यक्रममार्फत सहयोग गर्न प्रतिबद्ध रहेको पनि उनले बताए । समारोहमा नव–नियुक्त सदस्यहरूलाई बधाई दिँदै अग्रवालले उनीहरूको सहभागिताले नेतृत्व क्षमता, इमानदारिता र जिम्मेवारीप्रतिको विश्वासलाई प्रतिबिम्बित गर्ने उल्लेख गरे । उनले नयाँ सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संस्थाको गरिमा र उद्देश्यलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।

अग्रवालले नेतृत्व अधिकारले नभई सेवाभावले मापन हुने उल्लेख गर्दै पद प्रतिष्ठाको विषय मात्र नभई अरूका लागि अवसर सिर्जना गर्ने जिम्मेवारी पनि भएको बताए । उनले साँचो नेतृत्वले आत्मविश्वास अभिवृद्धि गर्ने, सहकार्यलाई प्रवद्र्धन गर्ने तथा संस्थालाई अझ सुदृढ बनाउने धारणा व्यक्त गरे ।

उनले नेपाल युथ चेम्बरका नयाँ सदस्यहरूले उत्कृष्टता, नवप्रवर्तन र राष्ट्रिय सेवाको भावनालाई आत्मसात् गर्दै संस्थालाई अझ प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा चेम्बरका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ, राजेन्द्र मल्ललगायतले मन्तब्य राखे । त्यस्तै, नेपाल युथ चेम्बरका अध्यक्ष दिपेशरत्न तुलाधरले युवा उद्यमीहरूको भूमिकाबारे प्रष्ट पारेका थिए । 

प्रकाशित मिति: आइतबार, असार २१, २०८३  १८:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार