सोसल मिडिया
Contact Us
युनिकोड
वीरगन्ज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेपछि उनको पद स्वतः निलम्बनमा परेको हो । अन्य व्यक्तिकी छोरीलाई झुट्टा विवरण पेश गरी नागरिकता दिलाएको आरोपमा अख्तियारले नगर प्रमुख सिंहसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका–१० निवासी रीता भट्टराईकी छोरीलाई गलत विवरणका आधारमा २०७१ साल कात्तिक २० गते जन्मदर्ता गराइएको तथा सोही कागजातको आधारमा २०७५ साल साउन १३ गते नागरिकता दिलाइएको अभियोगमा मुद्दा दर्ता गरिएको हो । यस प्रकरणमा नगर प्रमुख सिंहसँगै वीरगन्ज महानगरपालिका वडा नं. ३ का तत्कालीन सचिव भिखारी राय, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन शाखा अधिकृत षड्कुमार पोखरेल, गृह मन्त्रालयका उपसचिव पुष्कर राणा, शाखा अधिकृत परशुराम पोखरेल तथा रीता भट्टराईविरुद्ध पनि मुद्दा दायर गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिए । विशेष अदालतमा मुद्दा दायर भएसँगै आजकै मितिदेखि मुद्दाको अन्तिम किनारा नलाग्दासम्म नगर प्रमुख सिंहलगायत सार्वजनिक पदमा रहेका आरोपित व्यक्तिहरू निलम्बनमा परेको अख्तियारले जनाएको छ । नक्कली छोरी प्रकरणको छानबिन गर्न गृह मन्त्रालयबाट गठन गरिएको विशेष टोलीका संयोजक उपसचिव राणा तथा सदस्य शाखा अधिकृत पोखरेलले अनुसन्धान प्रक्रियामा चलखेल गरेको आरोपमा उनीहरूविरुद्ध समेत मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार रीता भट्टराईकी छोरीका नाममा किर्ते कागजात तयार गरी जन्मदर्ता, नागरिकता तथा राहदानी बनाइएको विषयमा प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९, दफा ११, दफा १२ तथा दफा १९ को उपदफा (२) बमोजिम कसुर ठहर गरी दण्ड र सजायको माग गरिएको छ ।