वीरगन्ज महानगरका मेयर सिंहलाई रिहा गर्न अदालतको आदेश

मंगलबार, जेठ १९, २०८३

वीरगन्ज । झुटा विवरण पेशगरी अर्काकी छोरीलाई नागरिकता र राहदानी (पासपोर्ट) दिलाएको अभियोगमा पक्राउ परेका वीरगन्ज महानगरपालिकाका नगर प्रमुख (मेयर) राजेशमान सिंहलाई पर्सा जिल्ला अदालतले ४ लाख १५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । पर्सा जिल्ला अदालतका मुख्य न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले लेखत सम्बन्धी कसुर मुद्दामा चार लाख रुपैयाँ तथा झुटा विवरण पेश गरी नागरिकता दिलाएको मुद्दामा १५ हजार रुपैयाँ धरौटी माग गरेको हो । मंगलबार बिहान पर्सा जिल्लाको ठोरी गाउँपालिकाबाट पक्राउ परेका मेयर सिंहलाई प्रहरीले सोही दिन जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल) कार्यालयमा बयानका लागि उपस्थित गराएको थियो । सरकारी वकिल कार्यालयमा बयान दर्ता भएपछि दिउँसो अदालतको इजलास नम्बर १ मा थुनछेक बहस भएको थियो । वादी तथा प्रतिवादी दुवै पक्षका कानुन व्यवसायीहरूको बहस सुनेपछि मुख्य न्यायाधीश रेग्मीले मेयर सिंहलाई धरौटीमा रिहा गर्न आदेश दिएको पर्सा जिल्ला अदालतका सूचना अधिकारी जयनारायण यादवले जानकारी दिए । उनका अनुसार अदालतले मेयर सिंहलाई ४ लाख १५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। उक्त रकम नगद वा कानुनबमोजिमको जमानत दाखिला गरेपछि उनलाई आजै रिहा गर्न इजलासबाट आदेश जारी भएको छ । सूचना अधिकारी यादवका अनुसार मेयर सिंहका तर्फबाट धरौटी रकम नगदै जम्मा गर्ने जानकारी अदालतलाई गराइएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १९, २०८३  १७:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार