सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो १० महिनामा नेपालमा ४५ अर्ब ३२ करोड १६ लाख रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता स्वीकृत भएको छ । उद्योग विभागले सार्वजनिक गरेको विवरणअनुसार वैशाख मसान्तसम्म अटोमेटिक रुटमार्फत ५ अर्ब ७६ करोड रुपैयाँ तथा अप्रुभल रुटमार्फत ३९ अर्ब ५५ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको हो । वैशाख महिनामा मात्रै करिब ३ अर्ब ५२ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ। यस अवधिमा कुल ७२८ कम्पनीमार्फत वैदेशिक लगानी प्रस्ताव दर्ता भएका छन् । तीमध्ये १९५ कम्पनी अप्रुभल रुट तथा ५३३ कम्पनी अटोमेटिक रुटमार्फत दर्ता भएका हुन् । वैशाख महिनामा मात्रै ११३ कम्पनी दर्ता भएको तथ्यांक विभागले सार्वजनिक गरेको छ । चालु आवमा दर्ता भएका कम्पनीमध्ये नौ वटा ठूला, आठ वटा मझौला तथा ७११ वटा साना प्रकृतिका उद्योग रहेका छन् । वैशाख महिनामा एउटा ठूला र बाँकी ११२ वटा साना उद्योग दर्ता भएका विभागको विवरणमा उल्लेख छ । यी उद्योगमार्फत करिब २३ हजार ५३० जनालाई रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ । क्षेत्रगत रूपमा हेर्दा सूचना प्रविधि क्षेत्रमा सबैभन्दा धेरै वैदेशिक लगानी प्रतिबद्धता आएको देखिएको छ । कुल दर्ता उद्योगमध्ये करिब ५८ प्रतिशत अर्थात् ४२१ उद्योग सूचना प्रविधिसँग सम्बन्धित छन् । त्यसैगरी पर्यटन क्षेत्रमा १८९, उत्पादनमूलक क्षेत्रमा ४२ तथा सेवा क्षेत्रमा ५५ उद्योग दर्ता भएका छन्। कृषि क्षेत्रमा १६ उद्योग दर्ता हुँदा खानी तथा पूर्वाधार क्षेत्रमा एक–एक उद्योग दर्ता भएको विभागले जनाएको छ । विभागका अनुसार चालु आवको साउन महिनामा सबैभन्दा धेरै लगानी प्रतिबद्धता आएको थियो। त्यसपछि भदौमा देखिएको ‘जेन जेड आन्दोलन’पछिको राजनीतिक तथा आर्थिक अवस्थाले लगानी प्रतिबद्धता घटेको देखिए पनि पछिल्लो समय निर्वाचन र नयाँ सरकार गठनपछि लगानीको प्रवृत्तिमा केही सुधार देखिएको उल्लेख गरिएको छ ।