दमकमा नेशनल कुलिनरी च्यालेन्ज कम्पिटिसन तथा फुड फेस्टिभल हुने

बिहीबार, वैशाख २४, २०८३

काठमाडौं । नेपाली खानाको मौलिकता, विविधता तथा सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘सेकेन्ड नेशनल कुलिनरी च्यालेन्ज कम्पिटिसन–२०२६’ तथा फुड फेस्टिभल आयोजना हुने भएको छ । इन्टरनेशनल नेपाली सेफ सोसाइटी र नेपाली सेफ सोसाइटीको संयुक्त आयोजनामा आगामी जेठ १ र २ गते झापाको दमकस्थित युनिभर्सल कलेज अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्टमा कार्यक्रम सञ्चालन गरिने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । कार्यक्रममा नेपालका सातै प्रदेशका मौलिक तथा रैथाने खानाको खोज, अनुसन्धान, संरक्षण तथा प्रवद्र्धन गरिने आयोजकले जनाएको छ । विभिन्न भौगोलिक क्षेत्रका लोपोन्मुख परिकारलाई एकै थलोमा प्रस्तुत गर्दै नेपाली खानालाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने लक्ष्य राखिएको छ । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै इन्टरनेशनल नेपाली सेफ सोसाइटीका केन्द्रीय अध्यक्ष अरुण अधिकारीले आधुनिक कुलिनरी प्रविधि र परम्परागत स्वादबीच सन्तुलन कायम गर्दै नयाँ पुस्ताका शेफहरूलाई सिर्जनशीलता तथा नवप्रवर्तनतर्फ प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रमअन्तर्गत खुला पाककला प्रतियोगिता, विभिन्न फुड कम्पिटिसन तथा आकर्षक फुड फेस्टिभल सञ्चालन गरिनेछ। फेस्टिभलमा ५० भन्दा बढी स्टल रहने र स्थानीयदेखि अन्तर्राष्ट्रिय परिकारसम्मको स्वाद लिन पाइने आयोजकको भनाइ छ । आयोजकका अनुसार १० भन्दा बढी देशका अनुभवी अन्तर्राष्ट्रिय शेफहरू निर्णायक (जज) का रूपमा सहभागी हुनेछन् । उनीहरूले नेपाली शेफहरूलाई विश्वस्तरीय मूल्यांकन, मार्गदर्शन तथा अनुभव आदानप्रदानको अवसर प्रदान गर्ने जनाइएको छ ।
प्रतियोगितामा सहभागिताका लागि तीन सदस्यीय टिम अनिवार्य गरिएको छ । सहभागी टोलीहरूले सोसाइटीको आधिकारिक खातामा शुल्क जम्मा गरी सहभागिता सुनिश्चित गर्नुपर्नेछ । प्रतियोगिताका विजेतालाई नगद पुरस्कारसमेत प्रदान गरिने आयोजकले जनाएको छ । प्रथम हुने टोलीले एक लाख रुपैयाँ, द्वितीय हुने टोलीले ७५ हजार रुपैयाँ तथा तृतीय हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । साथै, सबै सहभागीलाई मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने प्रत्येक टिमलाई ‘मिस्ट्री बक्स’ पनि उपलब्ध गराइनेछ । कार्यक्रमले पाककला क्षेत्रको विकाससँगै पर्यटन प्रवद्र्धन, स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना तथा सांस्कृतिक संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले लिएको छ । नेपाली सेफ सोसाइटीका अध्यक्ष एल.बी. कौशल नेतृत्वको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष वसन्त राई, उपाध्यक्ष शिवहरि घिमिरे, महासचिव गिरिराज भट्ट, सचिव पुष्कर पनेरु, कोषाध्यक्ष विष्णु खत्रीलगायत रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख २४, २०८३  १६:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार