दीपक भट्टको इन्स्योरेन्समा अर्थसचिव घनश्याम उपाध्यायकी श्रीमतीको १० हजार कित्ता सेयर

बुधबार, वैशाख ९, २०८३

काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुर अन्तर्गत अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका बिचौलिया दीपक भट्टसँग जोडिएको आर्थिक कनेक्सनबारे छानबिन भइरहेका बेला नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर संरचनामा अर्थसचिव डा. घनश्याम उपाध्यायकी श्रीमती भगवती उपाध्यायको नामसमेत देखिएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता अभिलेखअनुसार भगवती उपाध्यायको नाममा १० लाख रुपैयाँ बराबरको १० हजार कित्ता संस्थापक सेयर रहेको तथ्य सार्वजनिक भएको हो । दर्ता नं. ३०४३२०(७९र८० को सेयरवाला दर्ता किताब अनुसार उनी सातौँ नम्बरमा संस्थापक सेयर धनीका रूपमा उल्लेख छन् । यसअघि पनि दीपक भट्टसँग सम्बन्धित लगानी र कारोबारबारे अनुसन्धान भइरहेका बेला उच्च पदस्थ कर्मचारी र उनीहरूका परिवारको सम्भावित संलग्नताबारे प्रश्न उठ्दै आएको थियो । सोही क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुरकी श्रीमतीको नाममा समेत सेयर रहेको विषय सार्वजनिक भइसकेको छ । अर्थसचिव उपाध्यायले भने उक्त लगानी वैध स्रोतबाट गरिएको दाबी गरेका छन् । उनले गृह मन्त्रालयमा कार्यरत रहँदा कमाएको वैध आम्दानीबाट श्रीमतीको नाममा पब्लिक कम्पनीमा सेयर खरिद गरिएको स्पष्ट पारेका छन् । “म गृह मन्त्रालयमा छँदा पब्लिक कम्पनी हो भनेर कमाएको पैसा नियमपूर्वक श्रीमतीको नाममा सेयर लगानी गरेको हो,” अर्थसचिव उपाध्यायले बताएका छन् । उनका अनुसार उक्त सेयर खरिद २०७९ माघ १९ गते एभरेष्ट बैंकको चेकमार्फत भुक्तानी गरिएको हो । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर धनीहरूको आधिकारिक सूची सार्वजनिक भएसँगै कम्पनीको स्वामित्व संरचना पनि स्पष्ट भएको छ । कम्पनी रजिष्ट्रारको २०७९ चैत २१ गतेको अभिलेखअनुसार कुल ४६ जना संस्थापक सेयर धनी रहेका छन् । उक्त सूचीमा पशुपति मुरारका, शिरिश कुमार मुरारका, वेनु अग्रवाल, राजेश कुमार अग्रवाल, सुवास आचार्य, विक्रम न्यौपाने, भगवती उपाध्याय, सेन्ट्रम क्यापिटल प्रा.लि., सारथी क्यापिटल प्रा.लि., मोबिलोन ट्रेड इन्टरनेशनल प्रा.लि., रहिसा शाह (श्रेष्ठ), हुलास अटोक्राफ्ट प्रा.लि., विजवल्र्ड एडवाइजरी प्रा.लि., लियान मोर्टस प्रा.लि., मीना श्रेष्ठ, जय प्रकाश अग्रवाल रहेका छन् ।  यसैगरी साक्षी वसंल (गुप्ता), आकाश गुप्ता, दीनानाथ खण्डलवाल, रिसव रुंगटा, नीतु कयाल, प्रेम गुरुङ एण्ड गु्प प्रा.लि., लिला अग्रवाल, सुलोचना अग्रवाल, शरद गोल्छा, भरत गोल्छा, अभिज्ञान गोल्छा, प्रिन्टसेल इमेजिंग प्रा.लि., शुभम दुगढ, कृति अग्रवाल, अञ्जु भट्ट, प्रविना दाहाल, उदय नारायण भट्टराई, सीता भट्ट, विकास अग्रवाल, मिठु कार्की पनि रहेका छन् ।  त्यस्तै शारदा रिजाल, प्रेरणा जोशी, करुणा तुलाधर, उज्वल अग्रवाल, ललिका गोल्याण, ममत भेटवाल, सदिक्षा रिमाल, एक्सप्लोर इन्टरनेशनल प्रा.लि., आयुषा कार्की, दिपक भट्ट सञ्चालक रहेका छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख ९, २०८३  २१:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार