कोरोना कहरमा समेत सडक निर्माणमा जुट्दै ललितपुर महानगर

ललितपुर महानगरमा धमाधम सडक बन्दै 
आइतबार, कात्तिक २३, २०७७

ललितपुर । कोरोना संक्रमणबाट जोगिन सतर्कता अपनाउँदै ललितपुर महानगरपालिकाले सडक निर्माणलाई तीव्र पारेको छ । महानगरको  २९ वटा वडाभित्र सडक निर्माणको काम धमाधम भइरहेको छ । आउँदो जेठ महिनासम्ममा करिब २० किलोमिटर सडक कालोपत्रे हुने छन् । यसअन्तर्गत ५० वटा भित्री सडकहरु पर्छन् । यी सडक निर्माणका लागि ७४ करोड १६ लाख खर्च हुनेछ । फेज १ अन्तर्गत सुरु गरिएको सडक निर्माण सम्पन्न भइसकेका छन् । यो फेज अन्तर्गत चार दशमलव शून्य ६ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ । यो फेजमा १४ वटा सडक निर्माण भएका छन् । यस अन्तर्गत निर्माण भएका सडकको कुल लागत १२ करोड ३२ लाख रहेको छ । 
त्यसैगरी फेज दुई अन्तर्गत सडक निर्माणको काम धमाधाम भइरहेको ललितपुर महानगरपालिकाका वरिष्ठ इन्जिनियर रामरतन शाहले बताए । उनका अनुसार यो फेज अन्तर्गत ६ दशमलव ७ किलोमिटर सडक निर्माण हुन्छ ।  शाहले भने, ‘पहिलो फेजमा थालिएको सम्पूर्ण सडक निर्माण सम्पन्न भइरहेको छ, दास्रो फेजको असार महिनामा सक्नु पर्ने थियो, तर कोरोनाका कारण कातिक मसान्त सम्म निर्माण सम्पन्न गर्नुपर्ने समयसिमा तोकेका छौं ।’ 
फेज २ अन्तर्गत १५ सडक निर्माण हुने छन् । यसको लािग २६ करोड ६७ लाख विनियोजन गरिएको छ । 
फेज ३ अन्तर्गत  निर्माण हुने २१ वटा सडक निर्माणको काम असोजको पहिलो साताबाट सुरु भएको छ । यस अन्तर्गत ८ दशमलव ६ सय २५ किलोमिटर सडक निर्माण हुनेछ । तेस्रो फेजको सडक निर्माणका लागि ३५ करोड १७ लाख छुट्याइएको छ । 
महानगरपालिकाले सडक निर्माणको कामलाई विभिन्न फेजमा राखेर निर्माण अघि बढाएको छ । वडास्तरबाट आएको योजनालाई नगर सभाले अनुमोदन गरेपछि सडक निर्माणलाई बजेट विनियोजन गरिन्छ । 
महानगरको सडक विशेष सडक 
ललितपुर महानगरपालिकाले आफूले बनाएका सडक गुणस्तरका दृष्टिले अब्बल रहेको दाबी गरेको छ । महानगरले बनाएका सडक अन्यत्रको जस्तो एक वर्ष नबित्दै नभत्किने महानगर प्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने, ‘महानगरले बनाएको सडकको मोटाई बढी छ ,जसले गर्दा छिटो बिग्रदैंन ।’ महानगरका प्रमुख चिरीबाबु महर्जनले प्राविधिक सहित जनप्र्रतिनिधिको टोलीले सडकको गुणस्तर परीक्षण गरेपछि मात्रै सडक निर्माणकर्ताले भुक्तानी पाउने बताए । महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले कोरोना संक्रमणबाट जोगिन सतर्कता अपनाउँदै महानगरले अहिले धेरै क्षेत्रमा काम अघि बढाएको बताए । उनले भने, ‘यो बेला पनि सडक निर्माणको काम दु्रत गतिमा अधि बढेको छ ।’ उनले महानगरको विकासको लागि सडक निर्माण आधारभूत आवश्यकता भएकाले यसलाई प्राथमिकतामा राखेको स्पष्ट पारे । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०७७  ११:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार