सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल आयल निगमले पछिल्लो १५ दिनमा पेट्रोलियम पदार्थको बिक्रीबाट ठूलो मात्रामा घाटा व्यहोर्नु परेको जनाएको छ । निगमका अनुसार भारतबाट खरिद मूल्यभन्दा कम दरमा बिक्री गर्नुपर्दा समग्र घाटा ७ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी पुगेको छ । निगमले सार्वजनिक गरेको विवरणअनुसार ३१ मार्चको मूल्य आधारमा पेट्रोल प्रतिलिटर २२१.३२ रुपैयाँ, डिजेल २९४.९९ रुपैयाँ र मट्टीतेल २४३.७० रुपैयाँमा खरिद भइरहेको छ। त्यसैगरी हवाई इन्धन आन्तरिकतर्फ २५७.९२ रुपैयाँ, बाह्यतर्फ २६३.९ डलर तथा एलपी ग्यास २,३४१.५ रुपैयाँ प्रति युनिटमा खरिद भइरहेको उल्लेख छ । निगमका अनुसार हालको बिक्री मूल्यसँग तुलना गर्दा पेट्रोलमा प्रतिलिटर २.३२ रुपैयाँ, डिजेलमा ८७.९९ रुपैयाँ र मट्टीतेलमा ३६.७० रुपैयाँ घाटा देखिएको छ । त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ ०.९२ डलर, बाह्यतर्फ ६.५२ डलर र एलपी ग्यासमा ३३१.२५ रुपैयाँ प्रतियुनिट घाटा रहेको विवरणमा उल्लेख छ । पछिल्लो १५ दिनको अवधिमा पेट्रोलमा ७ करोड ६८ लाख रुपैयाँ, डिजेलमा ७ अर्ब २३ करोड ९३ लाख रुपैयाँ र मट्टीतेलमा ३ करोड १७ लाख रुपैयाँ घाटा भएको निगमले जनाएको छ । त्यसैगरी हवाई इन्धन आन्तरिकतर्फ २४ लाख रुपैयाँ, बाह्यतर्फ ३ करोड ८४ लाख रुपैयाँ तथा एलपी ग्यासमा ५० करोड ४३ लाख रुपैयाँ घाटा भएको विवरण सार्वजनिक गरिएको छ । समग्रमा १५ दिनको अवधिमा कुल घाटा ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ पुगेको निगमले जनाएको छ। निगमले अन्तर्राष्ट्रिय बजार मूल्य र बिक्री मूल्यबीचको अन्तरका कारण यस्तो अवस्था देखिएको उल्लेख गरेको छ ।