सोसल मिडिया
Contact Us
युनिकोड
ल्ण्डन । युरोपेली संघबाट औपचारिक रूपमा बाहिरिने प्रक्रिया सम्पन्न भएसँगै बेलायतका लागि नयाँ युग सुरु भएको छ । जीएमटी समयअनुसार राति ११ बजेदेखि यूकेले संघ अन्तर्गतका नियमहरूको पालना गर्न छाडेको छ । यात्रा, व्यापार, अध्यागमन र सुरक्षा सहकार्यका लागि नयाँ व्यवस्थाहरू लागू गरिएको छ । लामो समय लगाएर सम्पन्न भएको भए पनि ब्रेक्जिटसँगै अब बेलायतको ‘स्वतन्त्रता उसकै हातमा रहेको’ र ऊसँग ‘फरक र राम्रो’ ढङ्गले काम गर्ने क्षमता रहेको बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन् । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले यूके आफूहरूको ‘मित्र र सहयोगी’ रहने बताएका छन् । नयाँ प्रावधानहरू लागु हुन लागेको अवस्थामा केही अवरोधहरू देखिन सक्ने बेलायतका मन्त्रीहरूले चेतावनी दिएका छन् । बन्दरगाहहरूमा मालसामान अडेकिन सक्ने डरकाबीच अधिकारीहरूले सीमा सम्बन्धी नयाँ प्रणाली कार्यान्वयन गर्न आफूहरू तयार रहेको बताएका छन् । २७ सदस्य राष्ट्र रहेको युरोपेली संघबाट बेलायत गत वर्ष जनवरी ३१ तारिखमा बाहिरिएको थियो । सन् २०१६ मा गरिएको ब्रेक्जिट जनमत संग्रहको करिब साढे तीन वर्ष पछि बेलायतले यसतर्फ अन्तिम कदम चालेको हो । भविष्यमा आवश्यक पर्ने आर्थिक सहकार्यको खाका कोर्नका लागि उसले ११ महिनासम्म संघको व्यापार सम्बन्धी नियमहरू पालना गर्दै छलफल अघि बढाएको थियो । माछा मार्ने अधिकार तथा भावी व्यापार नीतिलाई लिएर महिनौंयता जारी मतभेद अन्त्य गर्दै युरोपेली संघ र बेलायतले क्रिसमसको अघिल्लो दिन ब्रेक्जिट पछिको व्यापार सम्झौतामा हस्ताक्षर गरेका थिए । कोरोनाभाइरस महामारीको असर, सीमामा अवरोध तथा आयातमा करलगायतका समस्या झेलिरहेका थुप्रै ब्रिटिश व्यापारी समुदायका लागि व्यापार सम्झौता एउटा महत्वपूर्ण राहत हुने ठानिएको छ ।–बीबीसी