सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वस्तुगत संघतर्फका कार्यकारिणी सदस्य पद का लागि उद्योगी होम प्रसाद घिमिरे ले उम्मेदवारी प्रस्तुत गरेका छन् । वन पैदावारमा आधारित उद्योग, उत्पादन, व्यापार तथा पर्यटन क्षेत्रमा झण्डै २८ वर्ष लामो सक्रिय व्यावसायिक अनुभव संगालेका घिमिरेले महासंघभित्र वस्तुगत संघहरूको भूमिका थप प्रभावकारी, परिणाममुखी र उद्योगमैत्री बनाउने प्रतिबद्धतासहित आफ्नो उम्मेदवारी अघि सारेका हुन् । घिमिरे हाल नेपाल प्लाईउड उत्पादक संघका अध्यक्ष रहेका छन् । यसका साथै, उनी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गत स्थल यातायात तथा पारवन समितिका सदस्य का रूपमा सक्रिय छन् भने एफईईएन (FEEN) का कार्यकारी सदस्य को जिम्मेवारी पनि सम्हालिरहेका छन् । उद्योग, उत्पादन, ढुवानी, आपूर्ति व्यवस्थापन र उद्यमशीलतासँग प्रत्यक्ष जोडिएका यी जिम्मेवारीहरूले उनलाई महासंघको वस्तुगत संघतर्फको नेतृत्वका लागि सक्षम र अनुभवी उम्मेदवारका रूपमा उभ्याएको व्यवसायिक वृत्तमा चर्चा छ । शैक्षिक रूपमा पनि सशक्त पृष्ठभूमि बोकेका घिमिरेले एम–फिल (M-Phil) पूरा गरेका छन् भने हाल त्रिभुवन विश्वविद्यालयबाट Political Economy विषयमा विद्यावारिधि (PhD) अध्ययनरत छन् । उद्योग, अर्थनीति र राजनीतिक अर्थशास्त्रबीचको सम्बन्धलाई शैक्षिक तथा व्यवहारिक दुवै तहमा बुझेका कारण उनी निजी क्षेत्रका समसामयिक मुद्दाहरूलाई गहिराइका साथ उठाउन सक्ने व्यक्तित्वका रूपमा हेरिएका छन् । वन पैदावारमा आधारित उद्योग तथा उत्पादन क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका घिमिरेले कच्चा पदार्थको उपलब्धता, उत्पादन लागत, बजार पहुँच, कर संरचना, ढुवानी व्यवस्थापन, नीतिगत जटिलता तथा स्वदेशी उद्योग संरक्षणजस्ता विषयमा निरन्तर आवाज उठाउँदै आएका छन् । विशेषगरी, स्वदेशी उत्पादनको प्रवर्द्धन, आयात प्रतिस्थापन, रोजगारी सिर्जना र मूल्य अभिवृद्धि गर्ने उद्योगहरूको संरक्षण तथा विस्तारमा उनको स्पष्ट धारणा रहेको बताइन्छ । व्यावसायिक जीवनसँगै घिमिरेको सामाजिक तथा संस्थागत सक्रियता पनि उल्लेखनीय रहेको छ। विभिन्न सामाजिक, व्यावसायिक तथा पेशागत संस्थामा उनले निरन्तर सहभागिता जनाउँदै निजी क्षेत्रको सामूहिक आवाजलाई बलियो बनाउने प्रयास गर्दै आएका छन्। उद्योगी–व्यवसायीको हकहित संरक्षण, नीतिगत संवादको सुदृढीकरण, उद्यमशीलताको वातावरण निर्माण तथा उत्पादनमूलक क्षेत्रको प्रवर्द्धनमा उनको संलग्नता दीर्घकालीन रूपमा देखिएको छ । उद्योग, व्यापार र पर्यटन क्षेत्रको समन्वित अनुभव बोकेका घिमिरेले महासंघको वस्तुगत संघतर्फका सदस्यहरूबीच नीतिगत प्रतिनिधित्व, क्षेत्रगत समन्वय, उत्पादनमुखी उद्योगको संरक्षण, लजिस्टिक्स तथा पारवहन सुधार, र निजी क्षेत्रमैत्री आर्थिक वातावरण निर्माण लाई आफ्नो प्राथमिक एजेन्डा बनाएको जनाइएको छ। उनले वस्तुगत संघहरूको आवाज महासंघभित्र अझ बलियो रूपमा स्थापित गर्दै, नीति निर्माण तहसम्म प्रभावकारी पहुँच विस्तार गर्ने लक्ष्यसहित उम्मेदवारी दिएको बताएका छन् । घिमिरे आवद्ध रहेको मयूर प्लाईउड इण्डष्ट्रिज मार्फत उनी उत्पादनमूलक उद्योग सञ्चालनको प्रत्यक्ष अनुभवसँग जोडिएका छन् । उद्योग सञ्चालनका क्रममा उनले कच्चा पदार्थ व्यवस्थापनदेखि उत्पादन, बजार विस्तार, रोजगारी सिर्जना र प्रतिस्पर्धात्मक व्यावसायिक वातावरणसम्मका विविध आयामलाई नजिकबाट अनुभव गरेका छन् । यही व्यवहारिक अनुभवलाई महासंघको संस्थागत नेतृत्वमा रूपान्तरण गर्दै वस्तुगत संघहरूको हितमा काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । एफएनसीसीआईको वस्तुगत संघतर्फको प्रतिनिधित्वलाई निजी क्षेत्रको नीतिगत हस्तक्षेप, उद्योगी–व्यवसायीको अधिकार संरक्षण र आर्थिक सुधारको बहसमा अत्यन्त महत्वपूर्ण मानिन्छ। यस्तो सन्दर्भमा उद्योग–उत्पादन–व्यापार–पर्यटन चारै क्षेत्रको अनुभव, शैक्षिक योग्यता र संस्थागत सक्रियता बोकेका होम प्रसाद घिमिरेको उम्मेदवारीलाई धेरैले अनुभव, अध्ययन र कार्यक्षमताको संयोजन का रूपमा व्याख्या गरेका छन् । घिमिरेको उम्मेदवारीले विशेषगरी उत्पादनमूलक, वन पैदावारमा आधारित, स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने र मूल्य अभिवृद्धि गर्ने उद्योगहरूको पक्षमा बलियो प्रतिनिधित्वको अपेक्षा बढाएको छ। निजी क्षेत्रको साझा संस्थाभित्र वस्तुगत संघहरूको प्रभावकारी उपस्थिति सुनिश्चित गर्दै उद्योगमैत्री नीतिगत वातावरण निर्माण गर्न सक्ने नेतृत्वको आवश्यकता रहेको वर्तमान अवस्थामा उनको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।