सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अफवाह फैलाउने र इनसाइडर ट्रेडिङ गर्नेलाई निस्तेज पारिने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको छलफलका क्रममा वर्तमान आर्थिक, नीतिगत र समसामयिक विषयमा सरकारको धारणा स्पष्ट पार्दै इनसाइडर ट्रेडिङ गर्नेलाई निस्तेज पार्ने बताएका हुन् । यद्यपि, शेयर बजारमा सम्पत्ति शुद्धीकरण छानबिन गर्नेतर्फ सरकारले नसोचेको अर्थमन्त्रीको भनाइ छ । शेयर बजार नेपालका अन्य क्षेत्रभन्दा पारदर्शी भएकाले बजारमा भित्रिएको लगानीको सम्पत्ति शुद्धीकरण छानबिन गर्नेतर्फ सरकार नरहेको उनको भनाइ छ । यहीकारण, लगानीकर्ता आत्तिनु नपर्ने वाग्लेले बताए । ‘सरकारले अघि बढाएको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानलाई देखाउँदै केही समूहले चलखेल गर्न खोजेको छ,’ वाग्लेले थपे, ‘तर पनि इनसाइडर ट्रेडिङ’ गर्ने र नियम विपरीत कारोबार गर्नेलाई निस्तेज पारिन्छ ।’ तर, शेयर बजारमा भएको लगानीको वैद्यता खोज्नेबारे अहिले नै सरकारले छलफल नगरेको वाग्लेको भनाइ छ। ‘शेयर बजारमा आएको लगानी वैध र अवैध भनेर अनुसन्धान शुरू भएको छैन । किनकि, शेयर बजारमा चेक र बैंकिङ माध्यमबाट कारोबार हुन्छ’, उनले थपे । सोहीकारण, शेयर लगानीकर्ताले आत्तिनु नपर्ने बताउँदै सरकार बन्नुअघि र बनिसकेपछि शेयर बजार घट्नुपर्नेगरी अर्थतन्त्रमा व्यापक परिवर्तन आइनसकेको बताए । यस्तै, मध्यपूर्वमा बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै सरकारले आवश्यक सावधानी अपनाएको उल्लेख गर्दै उनले सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको जानकारी दिए । युद्धग्रस्त देशमा रहेका २५ लाख नेपालीलाई स्वदेश फर्काउने भन्दा पनि समस्या परेका नेपालीलाई प्राथमिकताका साथ उद्धार गर्ने काम भइरहेको उनको भनाइ छ । अर्थमन्त्री वाग्लेले सरकारले अनावश्यक तामझामका साथ कारबाही नगर्ने तर वर्षौंदेखि अनुसन्धान भएर थन्केका मुद्दालाई अगाडि बढाइएको स्पष्ट पारे । नेपाललाई ‘ग्रे लिस्ट’बाट हटाउन पनि सरकारले सम्पत्ति शुद्धीकरणबारे अनुसन्धान शुरू गर्नुपरेको मन्त्री वाग्लेले जानकारी दिए । मन्त्री वाग्लेले सरकारको नीति राजनीतिक सुशासनसँगै आर्थिक सुशासन कायम गर्ने भएकाले आगामी जेठ १५ मा आउने बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुने बताए । यसैगरी, सरकारी स्वामित्वका संस्थानको व्यवस्थापनबारे बोल्दै उनले गोरखकाली लगायत केही संस्थालाई कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको र यसलाई आगामी बजेटमा समेटिने बताए ।