आर्थिक रुपान्तरण र सुशासन सरकारको मुख्य एजेण्डा : अर्थमन्त्री डा.वाग्ले

शुक्रबार, चैत २०, २०८२

रौतहट । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हालैको निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाएको अभूतपूर्व जनादेशलाई न्याय गर्नेगरी सरकारले काम गरिरहेको बताएका छन । पर्साको वीरगन्जमा शुक्रबार आयोजित आगामी आर्थिक वर्ष २०८३÷८४ को पूर्व–बजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उन्ले यस्तो धारणा राखेका हुन । अर्थमन्त्री वाग्लेले वर्तमान सरकार मुलुकको समग्र अर्थतन्त्र सुधारको बाटोमा अगाडि बढिसकेको दाबी समेत गरेका छन । ‘विगतका सरकारहरूलाई जस्तो यो सरकारलाई अहिले छुट छैन,’ उनले भने, ‘किनकी यो सरकारले जुन अभूतपूर्व जनादेश पाएको छ, त्यो सुधार र सुशासनका लागि नै हो ।’ पर्सा र बाराका उद्योगी व्यवसायीहरूको गुनासो र सुझाव सुनेपछि मन्त्री वाग्लेले आर्थिक रूपान्तरणकै लागि जनताले रास्वपालाई मत दिएकाले सोही एजेण्डामा काम सुरु भइसकेको स्पष्ट पारे । उनले आगामी बजेट आर्थिक रूपान्तरणको मूल ध्येयमा केन्द्रित हुने बताउँदै भने, ‘नीति सही र नियत सफा भए धेरै काम गर्न सकिन्छ । हाम्रो नीति र नियत दुवै स्पष्ट छ ।’ प्रधानमन्त्री बालेन्द्र शाहले समेत जनतालाई सास्ती नभई प्रत्यक्ष राहत दिने गरी काम गर्न निर्देशन दिइसकेकाले सरकार सोही दिशामा दृढताका साथ अघि बढ्ने उनले उल्लेख गरे । कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव भुपाल बराल, पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्त, वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक, राजस्व कार्यालयका प्रमुखहरूका साथै बारा र पर्साका उद्योगी व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  १८:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार