सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । मध्यपूर्वमा जारी युद्धले आपूर्ति प्रणालीमा निम्त्याएका अवरोधका कारण नेपालमा औषधि उत्पादन र आयात प्रभावित हुन सक्ने चिन्ता व्यवसायीहरूले व्यक्त गरिरहँदा सम्भावित असरको आकलन गरेर उपयुक्त रणनीतिहरू कार्यान्वयनमा ल्याइने एकजना सरकारी अधिकारीले बताएका छन् । औषधि व्यवस्था विभागको वेबसाइटका अनुसार नेपालमा करिब १३० वटा औषधि उद्योगहरू छन् जसमध्ये ८० वटाभन्दा बढी सञ्चालनमा रहेका नेपाल औषधि व्यवसायी सङ्घले जनाएको छ । नेपाल औषधि व्यवसायी सङ्घका अध्यक्षले पेट्रोलियम पदार्थको आपूर्ति प्रणालीमा देखिएको अवरोधसँगै औषधिका लागि आवश्यक कच्चा पदार्थहरूको अभाव हुन थालेको र जारी लडाइँले निरन्तरता पाए ठूलो समस्या आउन सक्ने चेतावनी दिए । औषधि व्यवस्था विभागका महानिर्देशकले पेट्रोलियम पदार्थको उत्पादन गर्ने क्रममा निस्कने कतिपय सह उत्पादनहरू औषधि बनाउन प्रयोग गर्ने गरिएको औँल्याउँदै आपूर्ति प्रणालीमा विश्वव्यापी रूपमा देखिने समस्याहरू नेपालमा पनि आउन सक्ने बताए । बजारमा अहिले नै सलाइनका लागि कच्चा पदार्थको समस्या देखिएका गुनासाहरू आफूहरूले सुन्न थालेको भन्दै सम्भावित असरहरूको विस्तृत मूल्याङ्कन गरिने उनले बताएका छन् । नेपालको एक अग्रणी औषधि उत्पादन कम्पनीका संस्थापकले सरकारका कैयौँ नीतिहरू औषधि उद्योग मैत्री नरहेका भन्दै झन्झटिलो प्रक्रिया अन्त्य गरिनुपर्नेमा जोड दिएका छन् ।
औषधि उत्पादकहरू के भन्दैछन् ? सन् १९९१ देखि नेपालमा औषधि उत्पादन गर्दै आएको देउराली जनता फर्मास्यूटिकल प्रालिका संस्थापक एवं कार्यकारी निर्देशक हरिभक्त शर्माले कच्चा पदार्थको मूल्यवृद्धि भएको भन्दै सरकारले उद्योगहरूलाई सहयोग पुर्याउने नीति अँगाल्नुपर्ने अवस्था आएको बताए । उनले भने, ‘धेरैजसो हाम्रा आपूर्तिकर्ताहरूले अहिले हामीहरू तिमीहरूको अर्डर नै लिन्नौँ भन्न थालिसके । कच्चा पदार्थ नै आएन भने हामीलाई भोलि औषधि बनाउन धेरै गाह्रो हुन्छ । यो बेला हामीसँग भएको कच्चा पदार्थ हामी बनाएर पठाउँछौँ र उपभोक्तालाई अभाव हुन नदिने प्रयास हामी गर्छौँ ।’ ‘तर सामान नै ल्याउन सकिएन भने र मूल्य अत्यधिक बढ्यो भने उद्योगहरूले त्यो ल्याउन नै सक्दैनन् । आफ्नो बजार पनि सानो भएको हुनाले विश्वव्यापी रूपमा लेनदेन गरेर कुरा मिलाउने हैसियत पनि धेरै रहँदैन। त्यही भएर हामीले हाम्रो नीतिहरूमा समायानुकुल सुधारहरू गर्नुपर्छ’, उनले भने । उनका अनुसार झन्डै दुई दशकदेखि उद्योगहरूलाई ुएउटै मूल्यमाु औषधि बेच्न सरकारले बाध्य पारिरहेको छ र कैयौँ नीतिहरूलाई नयाँ सरकारले अद्यावधिक गर्नुपर्ने आवश्यकता छ । नेपाल औषधि व्यवसायी सङ्घका अध्यक्ष प्रकाश खण्डेलवालाले पेट्रोलियमका कतिपय सह उत्पादनहरू बिना औषधि उत्पादन गर्न नसकिने भन्दै त्यसको अभाव सुरु भइसकेको बताए । उनले भने, ‘हाम्रोमा अधिकतम औषधि भारतबाट पैठारी भइरहेको छ । त्यहाँ पनि समस्या पर्न थालेको छ । अब कति दिनसम्म यो युद्ध जान्छ त्यसमा यहाँ कस्तो परिस्थिति उत्पन्न हुन्छ भन्ने निर्भर हुन्छ ।’ उनले थपे, ‘नेपालमा कच्चा पदार्थ पनि बाहिरबाट नै आउँछ। धेरै कुरा हामी भारतबाट ल्याउँछौँ। त्यहाँ अभाव भएपछि यहाँ पनि अभाव भइहाल्छ। यो लामो समय चल्यो भने हामीलाई गाह्रो हुन्छ ।’ यसै साता भारतीय अखबार द टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा प्रकाशित एउटा खबर अनुसार ‘रियाक्टर’ र वाष्प निस्कासनका लागि प्रयोग गरिने उपकरण सञ्चालनका लागि आवश्यक प्रोपेन ग्यासको चरम अभावका कारण गुजरात, महाराष्ट्र, तेलङ्गाना र आन्ध्र प्रदेशका कैयौँ फर्मास्यूटिकल कम्पनीहरू आंशिक वा पूर्ण बन्द भएका छन् । त्यसले पारासिटामोलदेखि भिटमिन र होर्मोनसँग जोडिएका कतिपय औषधिको उत्पादनमा असर पारिरहेको उक्त विवरणमा जनाइएको छ । त्यसबाहेक कतिपय एन्टिबायोटिकहरूको उत्पादनमा पनि असर पर्न सक्ने चिन्ता त्यहाँका सरोकारवालाहरूले संस्थाहरूले गरिरहेका खबरहरू आएका छन् ।
नियामक निकाय के गर्दै छ ? औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल विश्वव्यापी आपूर्ति प्रणाली प्रभावित हुँदा त्यसको असर नेपालमा पनि देखिने भन्दै आफूहरूले सरोकारवाला पक्षहरूसँग छलफल अघि बढाउन लागेको बताउँछन् । उनले भने, ‘अब केही समयपछि यसको असर पर्छ जुन नकार्न सकिँदैन । ढुवानीको खर्च बढ्ने भयो, कच्चा पदार्थको आपूर्तिमा असर पर्ने भनेपछि चाप परिहाल्छ । उत्पादकहरूसँग म कुरा गर्दै छु । उहाँहरूको लिखित रूपमा आएको छैन तर यो बेलामा सरकारले भ्याट लगाइरहेका निश्चित वस्तुहरूमा हेरिदिनुपर्यो भन्ने कुराहरू आइरहेको छ ।’ सलाइनका लागि आवश्यक कतिपय कच्चा पदार्थमा समस्या देखिन सक्ने उल्लेख गरेका उनले आफूहरूले जारी सङ्कटले पार्ने असरको आकलन गर्न प्रयत्न गरिरहेको बताए । ढकालले भने, ‘मैले उहाँहरूलाई के कस्तो असर पर्छ त्यसको वस्तुनिष्ठ विवरण दिनुहोला भनेको छु। अब एक दुई दिनमा थाहा हुन्छ ।’ ‘उद्योगहरूले एक तहको कच्चा पदार्थ भण्डारण गरेर राखेका हुन्छन् । कतिपयले दुई चार महिनासम्म पुग्ने गरी त्यस्ता सामग्रीहरू राख्छन् । भारतमा असर पर्यो भने त्यसपछिको चरणमा हामीलाई अप्ठेरो पर्छ होला । तर व्यवसायीहरूसँग एक चरण छलफल गरेपछि मात्र हामीलाई कस्तो असर पर्न सक्छ भन्न सकिन्छ ।’ उनले भने ।
व्यवसायीहरू के सुझाव दिन्छन् ? नेपाल औषधि व्यवसायी सङ्घका अध्यक्ष प्रकाश खण्डेलवाला भारत र चीनबाट औषधिका कच्चा पदार्थ नेपाल आउने गरेका भन्दै सरकारले अहिलेदेखि नै कूटनीतिक पहलहरू अघि बढाउनुपर्ने बताउँछन् । स्वास्थ्य मन्त्रालयमा अनौपचारिक ढङ्गले आफ्ना कुराहरू पुर्याएको बताएका उनले थपे, ‘हाम्रा छिमेकीहरू धेरै ठूलो जनसङ्ख्या भएका देशहरू हुन् । उनीहरूलाई धेरै चाहिन्छ । तर हामीलाई थोरै हुँदा पनि हुन्छ । त्यही भएर अहिलेदेखि नै हाम्रोतर्फबाट पहल हुनु जरुरी छ।’ फागुनको तेस्रो साता भएको प्रतिनिधिसभाको चुनावबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको झन्डै दुई तिहाइ सामर्थ्यसहितको सरकारले सत्ता सम्हाल्ने तयारी गरिरहँदा इन्धनदेखि आपूर्ति प्रणालीसँग जोडिएका कैयौँ चुनौतीहरू सतहमा आएका छन् । इरानको प्रभाव क्षेत्रमा रहेको अन्तर्राष्ट्रिय जलमार्ग स्ट्रेट अफ होर्मुज बन्द गरिएसँगै संयुक्त राज्य अमेरिकासम्म औषधि आपूर्ति प्रणालीमा अप्ठेराहरू आउनसक्ने खबरहरू आइरहेका छन् । देउराली जनता फर्मास्यूटिकल प्रालिका संस्थापक शर्मा नेपालका औषधि उद्योगहरू ‘चाहिनेभन्दा बढी’ नियममनको मारमा रहेको उल्लेख गर्दै आपूर्ति प्रणालीमा देखिएको सङ्कटले उद्योगहरूलाई नै बन्द गराउनसक्ने ठान्छन् । उनले भने, ‘संसारभर उपभोक्ता मूल्य सूचकाङ्कले मूल्यलाई निर्धारण गरिरहेको हुन्छ ।मुद्रास्फीतिले पनि त्यसलाई छोइरहेको हुन्छ । तर हाम्रोमा सरकारले राजपत्रमा सूचना निकालेर एक रुपियाँ, दुई रुपियाँ, पाँच रुपियाँमा औषधि बेच भन्छ । जबकि एक कप चिया नै २५–३० रुपियाँ भन्दा सस्तो पाइँदैन ।’ उनले थपे, ‘गुणस्तरको मतलब नगरेर मूल्य मात्रै हेर्न थालेकाले नेपालमा ठूलै समस्या छ । उद्योगहरू विस्तारै बामे सर्न लागेको बेलामा सुधार गरिएन भने भोलि भइरहेका उद्योगहरू पनि बन्द हुन्छन् । विदेशबाट औषधि पनि ल्याउन सकिँदैन । तत्कालै पुराना नीतिहरू सच्याइनुपर्छ ।’–बीबीसी