सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले इरानको आणविक सामग्री सुरक्षित गर्ने वा नियन्त्रणमा लिने रणनीतिबारे आन्तरिक परामर्श गरिरहेको खबर सार्वजनिक भएको छ । अमेरिकी राज्य नियन्त्रित सञ्चारमाध्यमका अनुसार, इरान को आणविक भण्डार नियन्त्रणमा लिन सकिने सम्भावित विकल्पहरूबारे उच्चस्तरीय छलफल भइरहेको छ । यद्यपि, कुनै पनि सैन्य वा विशेष अपरेसनबारे अन्तिम निर्णय भने अझै गरिएको छैन र यसको समयसीमा पनि स्पष्ट छैन । रिपोर्टका अनुसार योजना मुख्यत विशेष सैनिक (स्पेशल फोर्स) प्रयोग गरेर लक्षित अपरेसन सञ्चालन गर्ने सम्भावनामा केन्द्रित छ । यस्तो अपरेसनमार्फत इरानको संवेदनशील आणविक सामग्री कब्जा गर्ने वा सुरक्षित स्थानमा सार्ने विकल्पमा छलफल भइरहेको जनाइएको छ । यदि यस्तो अपरेसन अघि बढाइयो भने, यसले प्रत्यक्ष सैन्य टकरावको खतरा बढाउने र क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बनाउने अनुमान गरिएको छ ।
‘इरान युद्धमा लक्ष्यको करिब छौँ, बिस्तारै युद्ध रोक्नेबारे सोच्दैछौँ’ अमेरिकी राष्ट्रपति ट्रम्पले इरान युद्धमा अमेरिका लक्ष्यको करिब पुगिसकेको टिप्पणी गरेका छन् । शनिबार सामाजिक सञ्जाल ट्रूथमा अभिव्यक्ति सार्वजनिक गर्दै ट्रम्पले लक्ष्यको करिब पुगिसकेकाले बिस्तारै युद्ध रोक्नेबारे सोचिरहेको पनि उल्लेख गरेका छन् । ‘हामी इरानको आतंकी शासनको सन्दर्भमा मध्यपूर्वमा आफ्नो ठुलो सैन्य अभियान विस्तार–बिस्तारै समाप्त गर्नेबारे सोचिरहेका छौँ,’ ट्रम्पले लेखेका छन्, ‘किनकि हामीले आफ्नो लक्ष्यको निकै नजिक पुगिसकेका छौँ ।’ अमेरिका र इजरायलले आफूमाथि सैन्य हमला गरेपछि इरानले समुद्री नाका स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी गरेको छ । जसले विश्वको सबैभन्दा ठुलो तनाव सिर्जना गर्दै विश्वभर ऊर्जा संकट निम्त्याएको छ । त्यसबारे ट्रम्पले अमेरिकालाई त्यसको सुरक्षाबारे चिन्ता नभएको आशय व्यक्त गरेका छन् । उनले अगाडि भनेका छन्, ‘त्यसको सुरक्षाको निगरानी गर्ने जिम्मा ती देशले उठाउनुपर्छ, जसले त्यसको प्रयोग गर्छन् ।’ यद्यपि ती देशले अमेरिकासँग होर्मुजको सुरक्षाका लागि सहयोग मागे त्यसमा मद्दत भने गर्ने प्रतिबद्धता जनाएका छन् । ‘तर, इरानको खतरा सकिएपछि हाम्रो सहयोग पनि आवश्यक पर्ने छैन । किनकि ती देशका लागि त्यो सजिलो सैन्य अभ्यास हुनेछ,’ ट्रम्पले भनेका छन् । ट्रम्पले हालसम्मको युद्धमा इरानको मिसाइल क्षमता पूरा नष्ट गरिसकेको, इरानको सैन्य औद्योगिक आधारलाई ध्वस्त पारेको र इरान कहिल्यै पनि परमाणु हतियार बनाउनको नजिकसम्म नपुगोस् भनेर सुनिश्चित भइसकेको दाबी गरेका छन् ।