हेटौँडास्थित टिसिएनको चौरमा कृषि तथा पर्यटन महोत्सवको तयारी तीव्र

बिहीबार, फागुन २८, २०८२

हेटौँडा । यही फागुन २९ गतेदेखि हेटौँडामा हुन लागेको दोस्रो खेलकुद, कृषि तथा पर्यटन महोत्सवको तयारी तीव्र पारिएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौँडा-१० स्थित टिसिएनको चौरमा महोत्सव हुन लागेको हो । जिल्लाको खेलकुद क्षेत्रको विकासका लागि आयोजना गर्न लागिएको महोत्सवको तयारीलाई तीव्र पारिएको आयोजकले जनाएको छ । जेनजी आन्दोलनको क्रममा भएको भौतिक क्षति पुनःस्थापना तथा खेलकुद सामग्री खरिद एवम् खेलकुद क्षेत्रको विकासका लागि महोत्सवको आयोजना गर्न लागिएको खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष राजकुमार मोक्तानले जानकारी दिए । ‘दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवको तयारीलाई तीव्र पारिएको छ । अहिले महोत्सव स्थलको घेरा बारासहित स्टल निर्माण, खेलकुद प्रतियोगिता आयोजनास्थलको मर्मत सम्भार लगायतका कार्य भइरहेको छ’, अध्यक्ष मोक्तानले भने । महोत्सवबाट बचेको रकमले मकवानपुर जिल्ला खेलकुद विकास समितिको भवन निर्माण र खेल सामग्री खरिद गरिनेछ । महोत्सव सञ्चालनमा करिब ८० लाख रुपैयाँ खर्च हुने बताइएको छ । ४०० वटा व्यावसायिक स्टल रहने महोत्सवमा खेल, व्यापार, कृषि र पर्यटनलाई एउटै थलोमा जोड्ने उद्देश्य राखिएको अध्यक्ष मुक्ताफले बताए । महोत्सवमा राष्ट्रिय महिला भलिबल, राष्ट्रिय तेक्वान्दो, जिल्ला स्तरीय पुरुष भलिबल, ब्याडमिन्टन र कराँते प्रतियोगिता, १० किलोमिटर महिला तथा पुरुष दौड प्रतियोगिता हुनेछ । महोत्सवमा विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन समेत हुने बताइएको छ । महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारबाट साङ्गीतिक प्रस्तुति समेत रहने खेलकुद विकास समितिका सदस्य मदन उप्रेतीले बताए । खेलकुद महोत्सवमा खेल क्षेत्रका १० जनालाई जनही नगद २५ हजार रुपैयाँसहित सम्मान समेत गर्ने आयोजकको तयारी रहेको छ । खेलकुद विकास समितिले यसअघि पनि महोत्सवको आयोजना गरेको थियो । महोत्सवबाट बचेको रकम खेलाडीको हितका लागि कोषमा राखिएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २८, २०८२  १२:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार