सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । जाउलाखेल स्थित प्रहरी परिसर ललितपुरले आफ्नो जाहेरी नलिएर पीडकलाई साथ दिएको पीडितको गुनासो छ । बिहीबार राजधानीमा पीडित जमुना खत्रीले पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले झुलाइरहेको भन्दै पीडा व्यक्त गरेकी छन् । कालिकोट शुभकालिका गाउँपालिका ६ कि जमुना खत्रीले आफूलाई मुगु जिल्ला नेकपा (एमाले)का नेता कर्ण बहादुर मल्लले जबरजस्ति यौन शोषण गरेको बताउँदै बच्चासम्म फाल्न लगाएको जनाएकी छन् । सो कार्यक्रममा अभियान्ता तथा भक्तपुर क्षेत्र नं २ कि प्रतिनिधिसभा सदस्य उम्मेदवार शोभा पाठकले पीडित खत्रीको न्यायका लागि प्रहरीले तत्काल जाहेरी दर्ता गरेर निज पीडक मल्ललाई पक्राउ गर्न माग गरिन् । आफूले जमुना जस्तै लामो समयदेखि त्यस्तै पीडा भोगेको र न्यायका लागि अड्डा अदालत धाउँदा पनि सत्ता र शक्तिको बलमा न्याय पाउन नसकेको जनाइन् । ‘अहिले सरकार प्रमुख महिला हुनुहुन्छ, परिवर्तनपछि आइजिपी दानबहादुर कार्की दाई हुनुहुन्छ, कम्तिमा तपाईहरुले हाम्रो आवाज सुनिदिनुपर्छ’ पाठक ले भनिन् । ‘केपी ओलीको एमाले पार्टीका नेताहरुबाट हामी महिला कहिलेसम्म शोषणमा पर्ने’ पाठकले प्रश्न गरिन् । त्यसैगरी अर्की पीडित बझाङकी रस्मिला धामीले जमुना खत्रीको जाहेरी प्रहरीले लिएर अनुसन्धान गर्न माग गरिन् । धामीले आफू पनि एमालेका अर्का नेताबाट पीडित भएको र उनलाई अदालतबाट पक्रेर अनुसन्धान गर्न आदेश हुँदा पनि बझाङबाटै उम्मेदवार बनाइनुले एमालेमाथि प्रश्न उठेको बताइन् ।