सोसल मिडिया
Contact Us
युनिकोड
विराटनगर । नेपाली सेनाको गौरवशाली इतिहास, वर्तमान कार्यक्षमता तथा राष्ट्रिय सेवामा पुर्याउँदै आएको योगदानलाई आमजनसमक्ष प्रस्तुत गर्ने उद्देश्यले सुनसरीको इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टरमा फागुन ४ र ५ गते दुई दिने वृहत् फोटो तथा सैन्य सामग्री प्रदर्शनी आयोजना हुने भएको छ । पूर्वी पृतना हेडक्वार्टर इटहरीकी जनसम्पर्क तथा सूचना अधिकृत सह–सेनानी सुस्मा सुब्बाका अनुसार प्रदर्शनीमा नेपाली सेनाले प्रयोग गर्दै आएका अत्याधुनिक हातहतियार, सञ्चार उपकरण, विपद् व्यवस्थापनका सामग्री तथा ऐतिहासिक तस्बिरहरू प्रदर्शन गरिनेछ । सर्वसाधारण, विद्यार्थी, सरकारी कर्मचारी तथा सञ्चारकर्मीहरूलाई सेनाको भूमिका, जिम्मेवारी र योगदानबारे प्रत्यक्ष जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सूचना अधिकृत सुब्बाले बताइन् । प्रदर्शनीका मुख्य आकर्षणमा विभिन्न कालखण्डमा नेपाली सेनाले प्रदर्शन गरेको साहस र सौर्य झल्काउने तस्बिरहरू, दुर्गम तथा कठिन भूगोलमा गरिएका उद्धार कार्यका झलकहरू,तथा संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनहरूमा निर्वाह गरेको भूमिकासम्बन्धी सामग्रीहरू समावेश रहनेछन् । त्यसैगरी, भविष्यमा सैन्य सेवामा प्रवेश गर्न इच्छुक विद्यार्थीहरूका लागि भर्ना छनोट प्रक्रिया, आवश्यक योग्यता तथा तयारीसम्बन्धी विशेष जानकारी कक्ष पनि सञ्चालन गरिने जनाइएको छ ।