टन्डनको ट्याली सिकाउने पुस्तक बजारमा

गुणस्तरीय कम्युटर शिक्षा युगको आवश्यक्ता हो : सरोकारवाला
बुधबार, माघ २८, २०८२

काठमाडौं । लेखक तथा प्रशिक्षक बाबुराम टन्डनको लेखाविधि (ट्याली) सिकाउने पुस्तक बजारमा आएको छ । मंगलबार अनामनगरस्थित डालो रेष्टुरेन्टमा आयोजित एक भव्य कार्यक्रमकाबीच ‘ट्याली’ नामक सो पुस्तकको विमोचन गरिएको हो । रेस्पेक्ट कम्प्युटर इन्स्टिच्युट अनामनगरले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि स्पार्क ग्रुप अफ कम्पनीका अध्यक्ष तथा युवा व्यवसायी रोशन घिमिरे थिए । विशिष्ट अतिथिहरुमा ग्रीनसिटी हस्पिटलका अध्यक्ष तथा समाजसेवी डा. एलबी टन्डन, साहित्यकार राधेश्याम लेकाली, इन्जिनियर रामबहादुर घिमिरे, रबिन कटुवाल, न्यायाधीश उमेश रुपाखेती, सुदन ज्ञवाली, नवीन चौहान, विष्णु शर्मा, सीताराम घिमिरेलगायतले सो पुस्तकक विमोचन गरे । पुस्तक विमोचनपछि बोल्दै प्रमुख अतिथि रोशन घिमिरेले टन्टन मेहनती, इमान्दार र सत्कर्ममा लगनशील व्यक्ति भएको बताए । आफूसँग केही समय काम गरेको स्मरण गर्दै उनले टन्डन आफै रोजगारदाता भएकोमा प्रशंसा गरे । एलबी टन्डनले हिसाब, निसाफ र पिसाब क्लियर हुनुपर्छ भन्दै हिसाब सहि राख्ने पुस्तक लेखेकोमा टन्डनलाई बधाई दिए । इन्जिनियर रामबहादुर घिमिरेले टन्डन ग्रामीणभेगबाट आएर व्यवसायी बन्नु र पुस्तक लेखकसमेत हुनु ठूलो उपलब्धि भएको बताए । अर्का वक्ता रबिन कटुवालले सामाजिक सञ्जालमा सायरी लेख्न लालायित हुने हामीहरु डायरी लेख्न अल्छी गर्ने बताउँदै टन्डनले मेहनत गरेर डायरी लेखेर पुस्तकको रुप दिएको बताए । पुस्तक सिर्जना गर्नु चानचुने कुरा नभएको भन्दै उनले पुस्तक लेखनको विज्ञतालाई निरन्तरता दिन टन्डनलाई आग्रह गरे । लेखक तथा साहित्यकार राधेश्याम लेकालीले कम्प्युटरको गुरुको रुपमा यो पुस्तक आएको भन्दै लेखकलाई बधाई दिए । यो पुस्तक नेपालमै बसेर पनि उच्च स्तरको रोजगारी पाउन सहयोगी हुने र विदेश जाँदा पनि दक्ष जनशक्ति बनेर जान उपयोगी हुने उनले बताए । न्यायाधीश उमेश रुपाखेतीले ज्ञान, सीप र चेतनाले मानिसलाई सफल बनाउने भन्दै रेस्पेक्टले सो अभियान सुरु गरेको बताए । डिजिटल लिटरेसी अनिवार्य भएको भन्दै पुस्तकमा भएका कुराहरुलाई व्यवहारमा उतारेर आफूलाई दक्ष जनशक्तिको रुपमा विकास गराउन सकिने उनको भनाइ छ । वक्ता सुदन ज्ञवालीले पहिले जुन इन्स्टिच्युटमा काम गरे अहिले आफ्नो छुट्टै इन्स्टिच्युट सञ्चालन गर्दा पनि पुरानो संस्थाप्रतिको सम्मान उच्च रहनु उदाहरणीय रहेको बताए । पठन संस्कृति घटिरहेको बेला पुस्तक प्रकाशन गर्नु आफैंमा चुनौतिपूर्ण रहेको बताउँदै कम्प्युटरसम्बन्धी पुस्तक निकालेर टन्डनले चुनौती स्वीकार गरेको उनले बताए । सही प्रश्न गर्नु नै सही उत्तर पाउनु हो भन्दै यो पुस्तकले प्रश्न गर्न सिकाउने उनको भनाइ छ । अर्का वक्ता नवीन चौहानले पवित्र पुस्तक विमोचन गरेको भन्दै टन्डनलाई शुभकामना दिए । आफ्नो शैक्षिक नेटवर्कमा यो पुस्तक र लेखक टण्डनलाई समावेश गराउने पनि उनले बताए । विष्णु शर्माले यो पुस्तक ट्याली सिक्न चाहनेका लागि पूर्ण पुस्तक भएको बताए । इन्स्टिच्युटले गुणस्तरीय कम्प्युटर शिक्षा दिँदै आएको बताउँदै लेखक र संस्थाको विकासको लागि शुभकामना दिए । सीताराम घिमिरेले अहिलेको बजार कम्प्युटरको बजार भएको भन्दै व्यवसायिक व्यक्तित्व विकासमा टन्डन लागेकोमा बधाई दिए । व्यवसायिक शिक्षाका लागि यो पुस्तक उपयोगी हुने उनको भनाइ छ । अतिथिहरुलाई स्वागत गर्दै लेखक तथा रेस्पेक्ट कम्प्युटर इन्स्टिच्युटका प्रमुख बाबुराम टन्डनले बजारमा लेखाप्रणाली व्यवस्थापन गर्ने जनशक्तिकै अभाव रहेको बताए । उनले दक्ष जनशक्ति विकास गर्न यो पुस्तक लाभदायी हुने बताए । जुनसुकै पेशामा पनि कम्प्युटरको ज्ञान आवश्यक रहेको भन्दै रेस्पेक्टबाट कम्प्युटर शिक्षा लिन र पुस्तक पढेर लेखाविधि सिक्न पनि उनले आग्रह गरे । कार्यक्रम समापनको क्रममा बोल्दै उनले उपस्थित सबैलाई धन्यवाद ज्ञापन पनि गरे । कार्यक्रमको सहजीकरण सन्तोष पोखरेलले गरेका थिए ।

प्रकाशित मिति: बुधबार, माघ २८, २०८२  ११:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार