सोसल मिडिया
Contact Us
युनिकोड
रामेछाप । रामेछापको मन्थली–६ तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले मृतकको संख्या १२ पुगेको जानकारी दिए । उनका अनुसार घटनास्थलमा थप ६ वटा शव फेला परेको छ । थापाका अनुसार ६ जनाको उपचारका क्रममा अस्पतालमा र ६ वटा शव घटनास्थलमा फेला परेको हो । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो । दुर्घटनामा परेर घाइते भएका ८ जनामध्ये ७ जनालाई धुलिखेल अस्पताल पठाइएको छ । उक्त दुर्घटनामा ज्यान गुमाउनेमध्य सात मृतकको पहिचान खुलेको छ । लिखु गाउँपालिका– ४ बिजुलीकोटका २९ वर्षीय बबी तामाङ, ३० वर्षिय दिपेश बस्नेत र २५ वर्षीय दिपेन्द्र बस्नेत, लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङका ३५ वर्षीया सानुमाया तामाङ, सोही वडाकी २१ वर्षीया तारा तामाङको पहिचान खुलेको हो । त्यस्तै, दोलखाको भीमेश्वर नगरपालिका–८ का ६० वर्षीय मानबहादुर तामाङ, गोलञ्जोर गाउँपालिका–६ का २४ वर्षीय शिव श्रेष्ठको पनि दुर्घटनामा मृत्यु भएको पुष्टि गरिएको छ। आज बिहान प्रदेश ०३–०१–९९५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको प्रहरीले जनाएको छ । बसमा कति यात्रु थिए भन्ने खुलेको छैन।सशस्त्र प्रहरीको गोताखोर टोलीले अहिले पनि खोजी जारी राखेको छ । मृतको पहिचान खुल्न बाँकि छ ।सडकबाट खसेको बस नदीमा डुबेको थियो । बस नदीबाट निकालिएको छ।