सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य फेरि बढेको छ । सोमबारको तुलनामा आज दुवै बहुमूल्य धातुको मूल्य उकालो लागेपछि बजार थप महँगो बन्दै गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९० हजार ३०० रुपैयाँ पुगेको छ । यस्तै, चाँदीको मूल्य पनि बढ्दै प्रतितोला पाँच हजार ३३५ रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुन दुई लाख ८६ हजार ६०० रुपैयाँ र चाँदी पाँच हजार २०० रुपैयाँमा कारोबार भएको थियो । एकै दिनमै सुन र चाँदी दुवैको मूल्य बढेपछि उपभोक्ता र व्यवसायी दुवै पक्ष सतर्क बनेका छन् । अन्तरराष्ट्रिय बजारको प्रभावस्वरूप मूल्य बढेको बताइँदै आएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज विश्व बजारमा एक औँस सुन चार हजार ६८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस ८० अमेरिकी डलरमा किनबेच भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धिको असर स्थानीय बजारमा पनि प्रत्यक्ष देखिँदै गएको छ । सुनचाँदीको मूल्य निरन्तर उकालो लागिरहेकाले निकट भविष्यमै थप महँगिने सम्भावना नकार्न नसकिने व्यवसायीहरूको भनाइ छ ।