महिलाको सशक्तिकरण आर्थिक सबलीकरण बिना सम्भव छैन : मन्त्री श्रेष्ठ

आइतबार, माघ १८, २०८२

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले महिलाको वास्तविक सशक्तिकरण आर्थिक सबलीकरण बिना सम्भव नहुने बताएकी छन् । मिथिला आर्ट ट्रेनिङ कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले समाजमा महिला सशक्तिकरणका नारा व्यापक रूपमा सुनिँदै आएको उल्लेख गर्दै त्यसलाई व्यवहारमा उतार्न आर्थिक आत्मनिर्भरताको आवश्यकता रहेको बताइन् । उनले भनिन्, ‘अहिले जताततै महिला सशक्तिकरणका नारा सुनिन्छन् । तर जबसम्म महिलालाई आर्थिक रूपमा सबल बनाउन सकिँदैन, तबसम्म गरिएका नारा र प्रयासहरूको खास अर्थ हुँदैन ।’ मन्त्री श्रेष्ठले नेपाललाई निर्वाचनमय देशको रूपमा चित्रण गर्दै जनसंख्याको ५१ प्रतिशत महिला भएपनि मतदानमा उनीहरूको सहभागिता सन्तोषजनक नरहेको बताइन् । उनले देशभर महिलाको मतदान दर २५ देखि २८ प्रतिशतसम्म सीमित रहेको छ भने मधेस प्रदेशमा यो आँकडा अझै कम रहेको बताइन् । उनले भनिन्, ‘निर्वाचनमय देश बनेको छ । नेपालमा ५१ प्रतिशत महिला हुनुहुन्छ । तर जब भोट खस्छ तपाईंको २५ देखि २८ प्रतिशतसम्म जान्छ तर मधेसमा त्यो आंकलन अझ कम छ । सबै दिदीबहिनीहरुले निर्वाचनमा सहभागी भएर आफ्नो मताधिकारको प्रयोग गर्नुपर्छ ।’ कार्यक्रममा उनले सबै दिदीबहिनीलाई निर्वाचनमा सक्रिय रूपमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरिन् ।

प्रकाशित मिति: आइतबार, माघ १८, २०८२  २०:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार