सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । फागुन २१ को प्रतिनिधिसभा सदस्यको चुनावी प्रभावले बढ्न थालेको बजार गत साताको अन्तिम दिनबाट पुनः घट्न थालेको छ । गत बिहीबार १७.५३ अंकले घटेको नेप्से आइतबार १९.८५ अंकले घट्न पुगेको हो । योसँगै नेप्से ओर्लिएर २६९४.२० अंकमा आइपुगेको छ भने कारोबार रकम पनि खुम्चिन पुगेको छ। गत हप्ता एकै दिन अधिकतम १६ अर्बसम्मको कारोबार भएकोमा आइतबार ९ अर्ब १० करोडमा खुम्चिएको छ । यो दिन कारोबारमा आएका २२९ वटा सेयरमध्ये २०१ वटाको मूल्य घट्दा ५० वटाको मात्रै बढेको छ । नेप्से सूचक अधिकतम २७८८ अंकमा पुग्दा मूल्य बढेको सेयरहरुमा सूचक ओर्लिएसँग करेक्सनहरु देखा परेका छन् । आइतबार होटल समूहको सूचक सबैभन्दा धेरैले घट्दा बजारको नेतृत्व गर्ने वाणिज्य बैंक तथा विकास बैंकको सूचक पनि नकारात्मक बन्न पुगे। यसले समग्र बजार नकारात्मक बनेको हो । यो दिन व्यापार समूहको ०.५५ प्रतिशतले उपसूचक बढे पनि अन्यको भने नकारात्मक नै रहन पुग्यो । कम्पनीगत रुपमा भने यो दिन मिथिला लघुवित्तको मूल्य सर्किट तहमा (९.७० प्रतिशत) बढेको छ भने क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको ८.१९ प्रतिशतले बढ्न पुगेको छ । बाँकी कम्पनी र म्युचुअल फन्डहरुको मूल्यमा सामान्य वृद्धि देखिएको छ । यता २०१ मध्ये सबैभन्दा बढी कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमा गिरावट देखिएको छ । पछिल्लो केही दिनदेखि लगातार मूल्य बढिरहेको यो सेयरमा आज नकारात्मक सर्किट लागेको हो । योबाहेक रावा इनर्जी डेभलपमेन्ट लिमिटेड ९.३४ प्रतिशत र कालिका पावर कम्पनी ७.३५ प्रतिशतको गिरावटसँगै सर्वाधिक गुमाउनेको सूचीमा दोस्रो र तेस्रो स्थानमा छन् । आज सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युत् कम्पनीको भएको छ। यो कम्पनीको ५५ करोड बराबरको कारोबार भएको हो ।