१२६ मेगावाट तल्लो सेती जलविद्युत् आयोजनाको पहुँच सडक निर्माण सुरु हुँदै

आइतबार, माघ १८, २०८२

काठमाडौं । तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको पहुँच सडक निर्माण सुरु गर्न लागिएको छ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको लिमिटेडले यहाँबाट खेर जाने पानीको सदुपयोग गर्दै तल्लो सेती आयोजना निर्माण प्रक्रिया अगाडि बढाएको हो । आयोजनाका लागि निर्माण व्यवसायीले पहुँच सडक निर्माण तथा कार्यालय स्थापना सुरु गरेको तनहुँ जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । उनका अनुसार तनहुँ आयोजनाबाट प्राप्त हुने नियन्त्रित पानी र मादी नदीबाट थप प्राप्त हुने प्रवाहलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा तल्लो सेती जलविद्युत् आयोजना निर्माण गर्ने योजना बनाइएको छ । आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको पनि जनाइएको छ ।

जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढ्दै
आयोजनाका संरचना निर्माणका लागि आवश्यक पर्ने निजी जग्गा अधिग्रहण प्रक्रिया समेत अगाडि बढाइएको छ । आयोजनाका विभिन्न संरचनाका लागि आवश्यक निजी जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढाउन प्रस्ताव स्वीकृतिका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेस गरिएको लिमिटेडले जनाएको छ ।

३२ मिटर अग्लो बाँध र ६.८ किमी सुरुङ

आयोजनाअन्तर्गत बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ साराङघाट नजिकै सेती नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ । बाँधबाट नियन्त्रित पानीलाई देवघाट–३ र ४ हुँदै ६।८ किलोमिटर लामो सुरुङमार्फत सेती नदीको संगमदेखि करिब ५०० मिटर तल पर्ने देवघाटस्थित कालीगण्डकी नदीको दायाँ किनारमा बन्ने अर्धभूमिगत विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिने योजना रहेको छ ।

कुन क्षेत्र प्रभावित ?

आयोजनाबाट बन्दीपुर–६, व्यास नगरपालिका–१३ र १४, देवघाट गाउँपालिका–२, ३ र ४, ऋषिङ गाउँपालिका–१ र ३, आँबुखैरेनी गाउँपालिका–५ र ६, तथा भरतपुर महानगरपालिका–२९ का केही भाग प्रभावित हुने जनाइएको छ ।

२२० केभी प्रसारण लाइनमा जोडिने

देवघाट–४ गाईघाटमा अर्धभूमिगत विद्युत्गृह निर्माण गरी विद्युत् उत्पादन गरिनेछ । उत्पादित विद्युत्लाई तनहुँ जलविद्युत् आयोजनाले निर्माण गरेको २२० केभी दमौली–नयाँ भरतपुर प्रसारण लाइनमा जोडेर राष्ट्रिय विद्युत् प्रणालीमा समाहित गरिनेछ । यसका लागि करिब २ किलोमिटर प्रसारण लाइन थप निर्माण गर्नुपर्ने जनाइएको छ ।

१२ किमी जलाशय, वार्षिक ५२ करोड युनिट उत्पादन

अर्धजलाशययुक्त तल्लो सेती आयोजनाको करिब १२ किलोमिटर लामो जलाशय बाँधस्थलबाट सुँडेगाउँसम्म विस्तार हुने बताइएको छ । आयोजनाबाट वार्षिक ५२ करोड युनिट विद्युत् उत्पादन हुने अनुमान छ । आयोजनाको अनुमानित लागत २५ अर्ब रुपैयाँ रहेको छ ।

परामर्श सम्झौता भइसकेको

कम्पनीले आयोजना विद्युत् उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरिसकेको छ । साथै दातृ निकाय एडिबीबाट प्राप्त करिब ३.५ मिलियन अमेरिकी डलर अनुदान सहयोगबाट विस्तृत इञ्जिनियरिङ डिजाइन तथा बोलपत्रसम्बन्धी कागजात तयार गर्ने परामर्श सेवा खरिदका लागि वाप्कोस (भारत) / निप्पन कोई (जापान) जेभीसँग विसं २०७५ चैत २९ गते सम्झौता भएको जनाइएको छ ।
 

प्रकाशित मिति: आइतबार, माघ १८, २०८२  १५:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार