सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । बाग्लुङ नगरपालिकाको गौरवको आयोजना ‘ब्लु हिल’ परियोजना बागलुङ–९ स्थित डोय पहाडमा तीव्र गतिमा निर्माण भइरहेको छ । नगरपालिकाले आगामी असार मसान्तसम्म दुई करोड ५० लाख बराबरको भौतिक संरचना तयार हुने लक्ष्यसहित काम अघि बढाएको छ । गत वर्षदेखि सुरु भएको ब्ल हिल परियोजना अन्तर्गत नगरपालिकाले जग्गा व्यवस्थापन, शौचालय तथा सत्तल निर्माणमा रु ७० लाख खर्च गरिसकेको छ । डोय पहाडको आँखैअगाडि देखिने दुई दर्जन हिमशृङ्खला र बागलुङ बजारको मनमोहक दृश्यले यस क्षेत्रलाई पर्यटकीय केन्द्र बनाउन प्रेरित गरेको हो । बागलुङ–९ का वडाध्यक्ष राजु थापाका अनुसार, अहिले ब्लु हिलमा २० फिटको शिवमूर्ति स्थापना गर्न आवश्यक दुईतला पक्की भवन निर्माण भइरहेको छ । ‘नगरपालिकाको ठूलो लगानीमा पूर्वाधार निर्माण भइरहेको छ । पहाडमाथि शिवमूर्ति निर्माण गरेर धार्मिक र प्रकृतिप्रेमी पर्यटक भित्र्याउने हाम्रो उद्देश्य हो,’ उनले बताए। ब्लु हिल परियोजना अनुसार २५ करोडको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको छ । यसमा वनभोजस्थल, ध्यान केन्द्र, दृश्य अवलोकनस्थल, जिमहल, मन्दिर, पार्किङ लगायतका अतिरिक्त पूर्वाधार निर्माण गर्ने योजना समावेश छ । नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठका अनुसार डोय प्राकृतिक रूपमा सुन्दर भएकाले आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने बताए । उनले भने, ‘डोय प्राकृतिक रूपमा सुन्दर र हरियालीले भरिपूर्ण छ । यहाँ आँखैअगाडि हिमाल र बागलुङ बजार देखिन्छ । प्रकृति र धर्मलाई सँगै जोडेर निर्माण भइरहेको पक्की संरचनाले आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षित गर्नेछ ।’ विस्तृत परियोजना प्रतिवेदन अनुसार ब्लु हिलको पूर्ण विकासमा अझ केही समय लाग्ने छ । परियोजना सम्पन्न भएपछि ब्लु हिल धार्मिक र पर्यटकीय दुवै दृष्टिले बागलुङको महत्वपूर्ण गन्तव्य बन्ने अपेक्षा गरिएको छ । समुन्द्री सतहबाट करिब दुई हजार २०० मिटरको उचाइमा रहेको डोय पहाडको प्राकृतिक सौन्दर्य र निर्माणाधीन पूर्वाधारले यस क्षेत्रलाई पर्यटकहरूका लागि आकर्षक गन्तव्य बनाउनेछ।