सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माणका काम अघि बढाउँदा धार्मिक विश्वास र सांस्कृतिक सम्पदालाई असर पुर्याउन नहुनेमा जोड दिएकी छन् । मुलुकको प्राथमिकता प्राप्त राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई मधेश द्रुतमार्ग निरीक्षणका क्रममा आज ललितपुरको खोकनामा आयोजित कार्यक्रममा उनले स्थानीयका सरोकारलाई गम्भीर रुपमा लिई समाधान खोज्न निर्देशन दिएकी हुन् । प्रधानमन्त्री कार्कीले भनिन्, ‘स्थानीय सरोकारवालाहरुलाई गम्भीरतापूर्वक ध्यान दिई समाधान खोज्नुपर्छ । आवश्यक परेको खण्डमा रेखाङ्कन र जिरोविन्दु समेत परिवर्तनका लागि तयार हुनुपर्छ । उहाँहरुको विश्वासमा आधात नपुग्ने गरी विकास निर्माण अघि बढाउनुपर्छ ।’ प्रधानमन्त्री कार्कीले भौतिक संरचना लगायतका निर्माण गरिँदा आवश्यक पर्याप्त खाली ठाउँको व्यवस्था मिलाउन समेत सुझाव दिइन् । उनले भनिन्,‘प्राकृतिक विपद्को बेला खुला ठाउँ आवश्यक पर्छ, मानिसको ओहोरदोहोर, मेला, पर्व र भेला तथा जमघटका लागि पनि खुला ठाउँ आवश्यक पर्छ । त्यसकारण खाली ठाउँ देख्ने वित्तिकै संरचना बनाउनुपर्छ भन्ने धारणा त्याग्नुपर्छ । योजना बनाउँदा नै पर्याप्त खाली र खुला ठाउँ छाडेर योजना बनाउने र संरचना निर्माण गर्ने गर्नुपर्छ ।’ प्रधानसेनापति अशोकराज सिग्देल र आयोजना प्रमुख उपरथी धर्मेन्द्र झाले आयोजनाको हालसम्मको कार्य प्रगति, चुनौतीलगायतका विषयमा प्रधानमन्त्री कार्कीलाई जानकारी गराएका थिए । प्रधानमन्त्रीको निरीक्षण टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री, परराष्ट्रमन्त्रीलगायत सहभागी थिए ।