उपचारका क्रममा १८ वर्षीया युवतीको मृत्यु, घटनापछि नवलपुर क्षेत्र केही समय तनावग्रस्त

आइतबार, माघ ११, २०८२

सर्लाही । सर्लाहीको नवलपुरमा रहेको मोहन आयुर्वेद औषधालयमा उपचारका क्रममा एक युवतीको मृत्यु भएको छ । पाइल्सको समस्याबाट पीडित १८ वर्षीया हंसु पासवान उपचारका लागि औषधालय पुगेकी थिइन्, तर उपचारकै क्रममा उनको मृत्यु भएको हो । लालबन्दी नगरपालिका–२, पुनर्वासकी स्थायी बासिन्दा हंसुको अवस्था सुरुमा सामान्य रहेको परिवारजनको भनाइ छ । तर औषधालयमा इन्जेक्सन लगाएपछि उनको स्वास्थ्य अचानक बिग्रिएको र केही समयमै अर्को इन्जेक्सन लगाइएपछि अवस्था झनै जटिल बन्दै गएर मृत्यु भएको पीडित पक्षले जनाएको छ । बिरामीको अवस्था गम्भीर बनेपछि उनलाई नवलपुरबाट हरिवनस्थित नमूना अस्पताल लैजाँदै गर्दा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनापछि नवलपुर क्षेत्र केही समय तनावग्रस्त बनेको थियो ।
आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गरेका थिए भने अहिले अवस्था क्रमशः सामान्य बन्दै गएको र सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ । उक्त आयुर्वेद औषधालय अवैध रहेको बताइएको छ । प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवातर्फ पठाएको छ । घटनासँग सम्बन्धित अनुसन्धानका लागि मोहन आयुर्वेद औषधालयका वैद्य रामविनय साहलाई प्रहरी नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  १९:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार